समाज

बाढीपहिरोसँगै पानी र कीटजन्य रोगको उच्च जोखिम

दाङ घोराहीका थारू समुदाय आइतबार खोलामा आएको बाढीमा माछा मार्दै। तस्बिर: रासस

अविरल वर्षा र बाढीपहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको सरुवा रोग विशेषज्ञहरूले औंल्याएका छन्। वर्षाको अवधिमा शुद्ध पानी पिउन र अन्य सतर्कता अपनाउन उनीहरूले सुझाएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुुसार मुहान फोहोर हुँदा पानी दूषित हुने र त्यस्तो पानी शुद्धीकरण नगरी पिए झाडापखाला, आउँ, टाइफाइड, हैैजालगायत रोगको संक्रमण हुने जोखिम हुन्छ। ‘बाढीपहिरोसँगै यी रोग फैलिने जोखिम उच्च हन्छ,’ पुनले भने।

बाढीपहिराको कारण जमिनको पानी दुषित हुँदा ‘लेप्टोस्पाइरिस’ नामक रोग लाग्छ। यसको कीटाणु कुनै घाउमार्फत मानिसको शरीरमा प्रवेश गर्छ।

यो रोग मुसा या अन्य जनावरको पिसाब भएको पानीले गर्दा लाग्छ। मुसाले यस्ता कीटाणु पिसाबबाट फालिरहन्छ। त्यस्तो पिसाब मिसिएको पानी प्रयोग गर्दा मानिसको शरीरभित्र कीटाणु प्रवेश गर्र्छ। बर्खामा दूषित बनेको पानीमा मानिसले टेके छालामा भएका साना घाउबाट कीटाणु शरीरमा पस्छन्।

कीटाणु शरीरभित्र प्रवेश गरेपछि कलेजो तथा मिर्गौलामा असर गरी जन्डिस हुने र मिर्गौला फेल हुनेजस्ता समस्या निम्तिन सक्छन्। यो कीटाणुको संक्रमण भारतमा बढी मात्रामा हुने गरेको र नेपालमा पनि बर्सेनि केही मात्रामा देखिने गरेको पाइएको छ। झाडापखाला तथा हैजा समयमै नियन्त्रण नभए शरीरमा जलवियोजन हुने र मिर्गौला फेल हुने जाखिम हुन्छ। टाइफाइडको समयमै उपचार नभए आन्द्रामा प्वाल पर्छ।  

पानी परेपछि हैजा, झाडापखाला, टाइफाइडजस्ता रोेगको संक्रमण हुने र केही दिनपछि कीटजन्य रोगहरू फैलिने जोखिम बढिरहेको डा. पुनले बताए। उनका अनुसार डेंगी, चिकनगुनियाँ, स्क्रबटाइफस र अन्य पहिचान नभएका रोगको संक्रमण हुने उच्च जोखिम छ।

 ‘कतिपय रोग कुन किराले टोकेर भएको भनेर पहिचान गर्नसमेत सकिन्न,’ उनले भने। यी रोग नेपालमा गत वर्षहरूमा पनि भइरहेको र अहिले पनि अस्पतालमा बिरामी आइरहेकाले थप महामारी बढ्ने जोखिम देखिन्छ।

वर्षाका कारण बाढीपहिरोले विस्थापितहरूमा पानीजन्य रोगको उच्च जोखिम भएकाले उनीहरू स्वयंले सुरक्षा उपाय अपनाउनुपर्ने र रोग लागि हाले अन्य सरोकारवाला निकायले औषधि, शुद्ध पानी र शौचालयको व्यवस्था गर्नुपर्छ। ‘रोग फैलिनुअघि नै यी कुराको व्यवस्थापन गर्नुपर्छ’ डा. पुनले भने। पानीजन्य रोगबाट बच्न सकेसम्म उमालेको पानी पिउन, सम्भव नभए पानीमा क्लोरिनको थोपा या ट्याब्लेट राखेर शुद्ध गरी पिउन उनले सुझाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी शुद्धीकरण गरेर पिउन सके पानीजन्य रोगको जोखिमबाट बच्न सकिने भन्दै सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ। ‘सकेसम्म उमालेको पानी पिउनू नभए क्लोरिन या क्लोरिनको ट्याब्लेट राखेको पानी पिउनू’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। साथै हातको सफाइमा ध्यान दिन, घरवरपरको वातावरण सफा राख्न, बासी सडेगलेका खाना नखान, ताजा खानेकुरा खान, गाँजर, काँक्राको सलाद खाँदा राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयले सुझाएको छ।

अहिलेसम्म मुलुकका कुनै पनि भागमा पानीजन्य रोगको महामारी नदेखिएको तर जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार सम्भावित सरुवा रोगको जोखिम व्यवस्थापनका लागि सबै प्रदेशबाट सूचना संकलन गरिरहेको र जनशक्ति तयारी अवस्थामा राखिएको छ।

देशभरिको महामारी व्यवस्थापन गर्न सकिने गरी ३ सय ४० जना स्वास्थ्यकर्मीलाई तालिम दिई तयारी अवस्थामा राखेका छौं। आवश्यक परेको ठाउँमा परिचालन गर्छौं,’ उनले भने। यसका साथै प्रदेश र स्थानीय सरकारलाई पनि चनाखो रहन निर्देशन दिइएको उनले बताए।

प्रकाशित: २४ असार २०८१ ०७:२३ सोमबार

#Incessant rain and flash floods #Water-borne and insect-borne diseases