समाज

सुरक्षित स्थानमै पहिराे खस्याे, स्याङ्जामा तीन जनाको मृत्यु

स्याङ्जाकाे बिरुवा गाउँपालिका-६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

पहिराेले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीय हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीय गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

पहिराेको जोखिममा रहेको आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको सुरक्षित स्थानमै पहिरो खस्दा ज्यान गएको हो। उनीहरूको घर नजिकै पनि आज बिहान पहिरो खसेको थियो।

बिरुवा गाउँपालिका-६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।

प्रकाशित: २२ असार २०८१ २०:१९ शनिबार