समाज

ओली निवास बालकोटको सुरक्षामा खटिएका इन्स्पेक्टर मृत फेला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको सुरक्षा जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ गुण्डु बस्ने ४२ वर्षीय सशस्त्र प्रहरी इन्स्पेक्टर उमेश थापा आफ्नै घरमा मृत फेला परेका हुन्।

इन्स्पेक्टर थापा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटको सुरक्षा प्रमुखमा खटिएका अधिकृत हुन्। दरबन्दी भने सशस्त्र प्रहरी प्रधान कार्यालय दरबन्दी रहेका थापालाई सशस्त्रले ओलीको घरमा काजमा खटाएको बुझिएको छ।

शुक्रबार बेलुका खाना खाई सुतेका थापा शनिबार बिहान ५ः३० बजे अचेत अवस्थामा फेला परेका थिए। तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उनलाई ६ः३० बजे अस्पताल पुर्‍याइएको थियो। अस्पतालले ६ः३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

थापाको मृत्युको विषयमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ। अहिले मृतकको शव पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज पठाइएको छ।

प्रकाशित: २२ असार २०८१ १२:१८ शनिबार

#KP Sharma Oli #Inspector of Armed Police