समाज

पुल भत्किँदा एकको मृत्यु,तीन जना घाइते

जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन पुल भत्किँदा एक जना कामदारको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

 पातारासी गाउँपालिका १ स्थित डलिगाड खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको हो। पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका १ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दका अनुसार पातारासी– १ कै ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाइते भएका छन् ।मृतक रन बुढा कामदारका रुपमा काम गर्दै आइराखेका थिए।

 घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।पुल भत्केको घटना थाहा पाउने बित्तिकै पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया घटनास्थलमा पुगेका थिए।

अध्यक्ष बोहोराले गुणस्तरहीन सामाग्रीको प्रयोग र चरम लापरबाहीका कारण पुल भत्किएको प्रतिक्रिया दिए।उनका अनुसार यो पुल कर्णाली प्रदेश सरकारको बजेटले बन्दै थियो।स्थानीय सरकारसँग पुल बनाउने बेला देखि नै कुनै समन्वय नभएको र समस्या आएपछि मात्रै एक्कासी थाहा पाएको उनको भनाइ छ। 

मृतकको क्षतिपूर्ति र घाइतेको उपचारमा सहयोगबारे पालिका स्तरमा छलफल हुने अध्यक्ष बोहोराको भनाइ छ।स्थानीय नैनसिंह ऐडीले पहिल्यै नै गुणस्तरीय सामान प्रयोग नभएको बताए । उनले घटनाको सत्य तथ्य छानबिन गरेर दोषी माथि कारबाही हुनुपर्ने बताए। ठेकेदारले कल्भट निर्माण गर्दा कमसल सामाग्रीको प्रयोग गरेको र बनाउँदै गरेको पुल भत्किएको स्थानीयले बताएका छन्।

प्रकाशित: २१ असार २०८१ २०:२७ शुक्रबार

#Patarasi Rural Municipality of Jumla #One worker died in the bridge collapse