समाज

जुम्लाका १७ प्रतिशत किशोरी १९ वर्ष अघि नै बन्छन् आमा

जुम्लामा १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औँल्याएको हो। २० वर्षमुनि गर्भ जाँच गर्ने किशोरीको तथ्याङ्क पनि सार्वजनिक गरेको छ। त्यसमध्ये जुम्लाको  गुठिचौर गाउँपालिमा ३३ प्रतिशत,पातारासी गाउँपालिका २४ प्रतिशत,तिला गाउँपालिकामा २२ प्रतिशत,तातोपानी गाउँपालिकामा २० प्रतिशत किशोरी २० वर्ष नपुग्दै किशोरी गर्भवती हुने गरेको पाइएको छ।

यता कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत,हिमा गाउँपालिकामा १७ प्रतिशत,सिंजा गाउँपालिकामा १५ प्रतिशत र  चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको देखिन्छ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सिनियर अनमि मोर्चा शाहीले भनिन्, गाउँ घरमा छिट्टै विवाह गर्ने चलन छ, शिक्षाको कमी छ। चाँडै उमेरमा विवाह हुनेहरू बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन्। शरीरका सबै अङ्गको पूर्ण विकास भइसकेको हुँदैन।,’ शाही छिटो छिटो बच्चा जन्माउनेहरूमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुने बताउँछिन्। 

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार शिक्षाको स्तर बढ्दै जाँदा कम उमेरमै विवाह गर्नेको संख्या भने घट्दै गएको देखिएको छ। कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएकाको संख्या सम्पन्नको तुलनामा बढी सर्वेक्षणले औँल्याएको छ।

त्यस्तै जनस्वास्थ्य कार्यालयको आव २०७७/०७८ को तथ्याङ्क अनुसार जुम्लाका ८ सय ६० जना किशोरीहरू २० वर्ष नपुगी आमा बनेको तथ्याङ्क सार्वजनिक भएको थियो। चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका थिए। पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना रहेका थिए। 

प्रकाशित: २१ असार २०८१ १३:२७ शुक्रबार

#Mother