समाज

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर बिहीबार तीन बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो।

दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिन्नत खातुन र अजमेरी खातुन रहेका छन्।

बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए। बालिकाहरुलाई पोखरीबाट उद्वार गरि अस्पताल लैजाँदै गर्दा एकजना बाटोमै मृत्यु भएको र दुईजनालाई उपचारको क्रममा प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । 

तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०८१ १७:०१ बिहीबार