समाज

कालोपत्रे पूर्ण र गुणस्तरीय बनाउन स्थानीयको माग

गत वर्षातका बेला ठूलो पहिरो गएको ठाँटी न्युरोडको सडक, जुन ठाउँमा कालोपत्रे गर्नका लागि पहिरो रोक्न कतैबाट पहल भएको छैन। तस्स्बिरः नागरिक

जाजरकोट – गतको वर्ष वर्षातका समयमा २ सय मिटर सडक भत्किने गरी पहिरो गएको  भेरी नगरपालिका ३ ठाँटी न्युरोडको सडकमा  कालो पत्रे नहुने भएपछि स्थानीयहरूले गुनासो गरेका छन्।

पहिरो गएको सडकमा पुननिर्माण गर्न ठूलो बजेट लाग्ने भन्दै स्थानीय सरकार र सडक विभागले  आनाकानी गरेपछि  सडक कालोपत्रे गर्ने जिम्मा लिएका निर्माण व्यावसायीले  उक्त सडक खण्डमा काम नगर्ने भएपछि स्थानीयले गुनासो गरेका हुन्।  ठूलो पहिरो गएको ठाँटी मात्र नभइ अन्य साना पहिरो गएका स्थानमा पनि  पहिरोको व्यवस्थापन नगरी सडकमा कालोपत्रे हुन थालेपछि जाजरकोट सदरमुकाम खलंगाका स्थानीयले  स्थानीय सरकार, सडक विभाग र  निर्माण व्यावसायी प्रति तिव्र आक्रोस पोख्न थालेको स्थानीय  व्यापारी कमानबहादुर खड्काले बताए। 

उनले  सडकको स्तरोन्नतिका लागि  हुन लागेको  कालोपत्रे अपूर्ण र गुणस्तरहिन हुन लागेको भन्दै आफूहरूले सम्बन्धित निकायको ध्यानाकर्षण  गराउदा पनि सुनुवाइ नभएको बताए। लामो समय  धुलाम्य सडकमा यात्रा गरेर हैरान भएका खलंगावासीहरूले सडक विभागले गर्न लागेको सडक  कालोपत्रेको काम पूर्ण र गुणस्तरयुक्त हुनुपर्ने  भन्दै  सरोकारवाला निकायसँग माग गरेका छन्। सदरमुकाम खलंगाको शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडक कालोपत्रे पनि व्यावसायी, सडक विभाग र  नगरपालिकाको गैरजिम्मेवारीका कारण  सदरमुकामको मुख्य ठाउँमा  छुट्ने भएपछि उनीहरुले तिव्र  गुनासो गर्न थालेका हुन।

ठाउँ ठाउँमा गएका साना ठूला पहिरोहरू, सडक छेउका पर्खालहरूको कारण देखाउदै  निर्माण व्यावसायीले  सडक चौडा नगरेको, उचित मात्रामा ह्युम पाइप नहालेको, गतिलो नाली निर्माण नगरेको  र सानासाना पहिरोहरूको पनि  व्यवस्थापन नगरेर कालोपत्रे गर्न लागेको भन्दै गुनासो गरेका हुन्। शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडक  अन्र्तगत भेलाले, ठाँटी न्युरोड र थाप्लेचौरको मोडमा गएको पहिरोको  दिर्घकालीन व्यवस्थापन हुनुपर्ने, वर्षातका वेलाको पानी नियन्त्रण गरेर सम्भावित पहिरोको रोकथामको  लागि गतिलो नाली र  उचित स्थानमा ह्युमपाइप राख्नु पर्ने  र कालोपत्रेमा गुणस्तरीय सामाग्रीहरू प्रयोग गर्नुपर्ने स्थानीयको माग छ।  यस प्रति सडक विभाग,  नगरपालिका र अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयवासीहरूको गुनासो छ।

सडक कालोपत्रे भएको केहि  महिनामै भत्किने गरि काम हुन लागेपनि  कुनै निकायले चासो नदिनु दुखद भएको स्थानीयवासीहरू बताउछन्। सडक कालोपत्रे गरेको भोलिपल्टै उम्किने भयो भने त्यसको जिम्मेवारी कसले लिने  खलंगा थाप्लेचौरका पुष्प केसीले भने। उनले खलंगाको ठाँटीबजार स्थित सिटीजन्स बैंक नजिकैको पहिरो गएको २ सय मिटरको  भागमा कालोपत्र नहुने, बाहुनवाडाको तल भेलालेको पहिरोको उचित व्यवस्था नभएको तल्लो थाप्लेको कुनामा पनि पहिरोको व्यवस्था नभएको बताए। 

वर्षातको पानी व्यवस्थापन, सडक चौडा गर्ने, पहिरोको बलियो रोकथाम, उचित मात्रामा ह्युमपाइप राख्ने तथा  सडक छेउमा  नाली राख्ने कामहरू नभएपछि सडक  कालोपत्रेको काम गुणस्तरीय नहुने  अर्का स्थानीय गणेश बानियाले बताए। उता  भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले  भने  आफूले यस बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको छ र ठाँटीको पहिरो  व्यवस्थापन गर्न निकै ठूलो बजेट लाग्ने भएकोले यसका लागि सडक विभाग र  अन्य निकायले पहल गर्नुपर्ने बताए। कालोपत्रेको कामलाइ  गुणस्तरीय बनाउन सबैको चासो जरुरी रहेको बताए।

कालोपत्रेको जिम्मा लिएका  राजेन्द्र जलजला कन्सट्रक्सन जेभीका प्रोप्राइटर प्रकाश विकले  सडक विभागले दिएको बजेट अनुसार आफूले काम गर्ने बताए। उनले ठूलो  पहिरो गएका स्थानमा  सडक विभागले  बजेट थप्नुपर्ने  तथा  सडक चौडा गर्न  धेरै स्थानमा  स्थानीयले नै अवरोध गरेकोले  समस्या परेको बताए।  बजार क्षेत्रका स्थानीयले  सडक चौडा गर्न नदिएको र  जति रकम  छुटिटएको  छ  त्यहि अनुसार  आफूले काम गरेर देखाउने  उनको भनाइ छ।  यस विषयमा  सडक डिभीजन कार्यालय चौरजहारीका  इन्जिनियरहरुसँग सम्पर्क गर्न  खोज्दा सम्पर्क हुन  सकेन।

प्रकाशित: १३ चैत्र २०७४ ०७:५२ मंगलबार