समाज

धान खेतीलाई वृद्धि गर्न सके तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्छौंः कृषि मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्न सके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्ने बताएकी छिन्।

आइतबार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन। उनले अहिले पनि मुलुकभित्र वार्षिक रुपमा ५६ लाख मेट्रिक टन धान उत्पादन भइरहेको भन्दै आगामी तीन वर्षमा ७० देखि ७५ लाख मेट्रिक टन धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन।

मन्त्री साहले कृषिप्रधान मुलुक भए पनि पछिल्लो समय मुलुकको कृषि क्षेत्र सङ्कटमा रहेको बताइन।उनले कृषि क्षेत्र सङ्कटमा भए पनि धान खेती भने ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरिन।उनले कृषि नीति, सङ्क्रामक रोग सम्बन्धी ऐनहरू कानुन मन्त्रालयमा एक वर्षदेखि रोकिएको भन्दै असन्तुष्टि जनाइन।

उनले सरकारले कृषि क्षेत्रको विकासको लागि जोखिममा आधारित रणनीति बनाउन आवश्यक देखिएको बताइन। उनले  नेपालमा उत्पादन भएको मोटो धान भारतमा निर्यात हुने र नेपालमा मसिनो चामल आयात हुने गरेको बताइन। उनले भारतबाट आयात भएको तथ्याङ्क देखिने तर नेपालबाट भारतमा निर्यात भएको धानको तथ्याङ्क कतै नराखिएको बताइन। उनले भारतमा जाने मोटो धान खुला सिमाना भएकाले साइकलमार्फत भारत जाँदा तथ्याङ्क भेट्न नसकिएको बताइन।

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्ने अवस्था भए पनि दुग्ध विकास संस्थानमा बेथिति हुँदा समस्या आएको बताइन। उनले दुग्ध विकास संस्थान सुधारमा एमाले निकट कर्मचारी सङ्गठनहरूको समेत सहयोग नपाएको गुनासो गरिन। 

प्रकाशित: १६ असार २०८१ १९:१६ आइतबार

#Agriculture and Livestock Development Minister Jwalakumari Sah #Rice cultivation #independent