समाज

७६ लाखको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ। मालिकाले ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो।

अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमता भएको उक्त भवन निर्माण गर्न गा मङ्सिरमा सम्झौता भएको हो। मालिका–५ का वडाध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गरिने जानकारी दिए।

यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जिर्ण भवनबाट वडा कार्यालयको कामकाज सञ्चालन हुँदै आएको थियो।

सात वडा रहेको मालिकामा यसअघि वडा नं ३ मा मात्र आफ्नै भवन निर्माण गरिएको थियो। वडा नं ६ को कार्यालय भने तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासकीय भवन, वडा नं १ र ७ को भवन निर्माण गर्न  दुईं करोड बजेट विनियोजन गरिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।-रासस

प्रकाशित: १५ असार २०८१ १३:५२ शनिबार

#Malika Rural Municipality #5 Panthok