समाज

जुम्लाको चौथो वडा बालविवाहमुक्त घोषणा

जुम्लाको गुठिचौर गाउँपालिका–४ बालविवाहमुक्त वडा घोषणा भएको छ। गाउँपालिकाका पाँचवडामध्ये पहिलो वडाका रूपमा वडा नं. ४ लाई शुक्रबार एक समारोहकाबीच बालविवाहमुक्त घोषणा गरिएको हो।

यो सँगै उक्त वडा बालविवाहमुक्त वडा घोषणा हुने जुम्लाको चौथो वडा बनेको छ। जुम्लामा कुल ६० वडा वडा छन्। यसअघि पहिलोपटक जुम्लाको पातारासी गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा भएको थियो। त्यसपछि क्रमशः तिला गाउँपालिको–६ र हिमा गाउँपालिका–१ नम्बर वडा बालविवाहमुक्त घोषणा भएका थिए।

गुठिचौर गाउँपालिका–४ बालविवाहमूक्त घोषणा गर्दा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सबैले आफ्नो ठाउँबाट प्रतिबद्ध भएर परिवर्तनका लागि पहल गर्ने हो भने परिवर्तन सम्भव हुने बताएका थिए। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बालविवाह अन्त्य गर्दा समाज बलियो हुने बताए। ‘यो समाज रुपान्तरणको पनि संकेत हो।

अब यो वडामात्र नभई गाउँपालिकाभरीनै बालविवाह हुने छैनन्। घोषणाको अवज्ञा गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ।’ सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १५ असार २०८१ १२:३९ शनिबार

#Jumla #Gutichour #Child marriage free