समाज

चिरीमायालाई चिन्ता छैन

तस्वीर कथा

सानागाउँका नामले चिनिने सिद्धिपुरकी ७५ वर्षीया चिरिमाया महर्जनले ‘पराले’ सामग्री बनाउन थालेको पनि दुई दशक भन्दा बढी भइसक्यो। सुकुल निर्माणमा चर्चित सानागाउँकी यी वृद्धाले समयअनुसार आफ्नो पेसालाई परिमार्जन गर्दै आएकी छिन्।

सुकुलबाट मात्र आम्दानी कम भएकाले नयाँ चिजमा हात हालेको उनले परालकै सोफा, ढक्की, ब्याग, मन्दिर लगायतका आकर्षक कलात्मक सामग्री बनाउन थालेकी छिन्। ‘पेसालाई छाड्ने होइन, समयअनुसार ढाल्ने हो,’ उनले भनिन्, ‘यसो भयो भने पेसा र बनाउने मानिस दुवै जीवन्त हुन्छन्।’

पराले सामग्रीलाई अलिकति आधुनिक रूप दिँदा आम्दानी ह्वात्तै बढेको छ। आम्दानीसँगै उनी पनि खुसी छिन्। विगतमा जीविकोपार्जनको मुख्य साधन रहेको यो पेसा अहिले उनका लागि सोखको काम बन्न थालेको छ। अन्यले पेसा छाडे पनि यी वृद्धा आफूले पराल छाड्न नसकेको सुनाउँछिन्। ‘दुःखका दिनमा साथ दिएको यो काम अहिले आएर छाड्न सकिनँ,’ उनले भनिन्, ‘सुखका दिनमा काम गर्दा झन् धेरै खुसी मिल्दो रहेछ।’  

प्रकाशित: १५ असार २०८१ ११:३१ शनिबार

#photo story #Chirimaya is not worried