समाज

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ।

कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ। सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आए पनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ।

राष्ट्रिय धान दिवसको सुरुवात

नेपालले वि.सं २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो।

असार १५ मा दही र चिउरा खाने प्रचलन

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा रहेको छ। यस दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन्। दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो।

असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन्। असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन्।

राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ। कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व छ।

सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ। देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ।

त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन्। असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो। साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ।

लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ। त्यस्तै असारमा डुल्ने पजनीमा भुल्ने अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टी गर्छ।

रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ। रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ।

रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ।

कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ। एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ। पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यसको उत्पादन भने कम हुन्छ।

मनाउने तरिका

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन्। असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ।

हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन्।

प्रकाशित: १५ असार २०८१ ०७:२७ शनिबार

#June-15th #National Rice Day