समाज

१५ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल–भारत सीमा क्षेत्र नजिक मोरङको धनपालथानबाट साढे १५ क्विन्टल गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–७ कमलपुर टोलका ३० वर्षीय राजकुमार सिंह रहेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंहको खेतमा रहेको गोठबाट बिहीवार १५ सय ४८ किलोग्राम लागुऔषध गाँजा नियन्त्रणमा लिइएको हो।

सिंहको खेतमा रहेको गोठमा गाँजा भण्डारण गरी राखेको सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय रंगेलीले गाँजा नियन्त्रणमा लिइएको हो।

गोठभित्र गहुँको भुस राख्ने ठाउँमा लुकाई राखेको ४९ बोरा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो।

बरामद भएको गाँजा सिंहले नै ल्याएर भण्डारण गरेको हो वा भन्ने खुली नसकेको बताउँदै डिएसपी बस्नेतले भने, ‘पक्राउ परेका सिंहको घरदेखि पर उनकै गोठमा कसले कहाँबाट ल्याएको वा आफैं ल्याएर राखेको हो र कहाँ लान लागेको खुलेको छैन। अनुसन्धान थालेका छौं। यहाँ राखेर भारततर्फ चोरी तस्करी गरेर लैजान लागेको हुनुपर्ने अनुमान गरिएको छ।’

कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुने गरेको छ। त्यहाँ उत्पादन भएको गााँजा झापा, मोरङ र सुनसरीबाट चोरीतस्करी हुँदै भारत जाने गरेको छ। पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०८१ १०:३६ शुक्रबार