समाज

सहकारी ठगी प्रकरण: संसदीय समितिले झिकायो गोरखा मिडियाको फाइल

सहकारी संस्थाका बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम प्रभाव गर्ने सहित ९ सहकारीको कागजात मागेको छ।

संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा रकम प्रभाव गर्ने सहकारीसँगै अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको हो।

समितिका सभापति सूर्य थापाका अनुसार समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।

त्यसैगरी समितिले  ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समिति र त्यसको प्रतिवेदन लगायत माग गरिएको छ।

पोखराको सूर्यदर्शन लगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए।

रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि जेठ १५ गते संसदीय छानबिन समिति गठन भएको हो ।

प्रकाशित: १२ असार २०८१ १६:०३ बुधबार

#Rabi_Lamichhane #Surya Thapa #Gurkha Media #Galaxy Television