समाज

किन भन्नु हुँदैन ‘आइमाई’ ?

फेसबुकमा फोटो शेयर गरेर मात्र पुग्दैन, कहिलेकाहीँ वैचारिक कुरा पनि गर्नुपर्ने हुन्छ, म आज यहाँ त्यही गर्दैछु। तल मैले महेश्वर श्रेष्ठ जी को एउटा फेसबुक स्टेटस शेयर गरेको छु। त्यसमा उहाँ लेख्नुहुन्छ, ‘आईमाई शब्द प्रति केहि शिक्षित नेपाली महिलाको घृणा तथा विरोध र त्यसको प्रयोग गर्नेलाई कानूनी कारवाही गर्न माग गर्नु बुझिनसक्नु छ। आईमाई शब्दको कुनै नराम्रो अर्थ छ भने कसैले मलाई स्पष्ट पारोस्।’

मैले उहाँको स्टेटसमै पनि केही कुरा ‘स्पष्ट’ त पारेँ। मैले लेखेँ, ‘महेश्वरजी, म बाहुन हुँ, तपाईं नेवार हो, तर कसैले ए बाहुन्, वा ए नेवार भन्यो भने कस्तो लाग्छ ? यो त्यस्तै हो। युगौंसम्म हेयबोधक शब्दका रूपमा प्रयोग भएको शब्द ‘आइमाई’ महिलालाई मात्र होइन, त्यसको प्रयोग मजस्ता ‘गैरमहिला’ लाई समेत मन पर्दैन। उहाँले उठाएको कुराको जवाफ उहाँकै स्टेटसमा दिइसकेपछि पुग्नुपर्ने हो। तर म यहाँ पनि यो कुरा लेख्न पुगेँ। किनभने मलाई थाहा छ, मेरै फेसबुक फ्रेन्डमध्ये पनि कतिलाई यस्ता शब्द प्रयोग गर्नु हुँदैन भन्ने चेतना ‘डलरे चेतना’ हुन् भन्ने लाग्छ। तिनले पनि पढ्लान् वा कसैले शेयर गर्लान् भन्ने आशाले पनि म यहाँ महेश्वरजीलाई दिएको जवाफभन्दा अलि लामो कुरा यहाँ लेख्दैछु ।

हुन त हामी यसभन्दा धेरै माथि उठिसक्नुपर्ने हो। तर जसरी गल्लीका कुकुरलाई बेबाटो हिँड्नेलाई पछ्याउँदै फ्वाँकमा भुक्न मनपर्छ, हामीलाई पनि अर्कालाई हेपेर बोल्न मनपर्छ। महिलालाई ‘आइमाई’ भनेको मन पर्देन, तर हामी संस्कृतको ‘आर्यमाता’ ल्याएर भन्छौँ, ‘यो त महान् शब्द हो, डलरेहरूले हाम्रो महानताको विरोध गरे।’ मधेशीहरूले ‘हामीलाई मदिसे नभन’ भन्दा ‘मलाई पहाडे भन्दा चित्त दुख्दैन त !’ भन्ने खालका ताई न तुईका तर्क जोत्ने र हेपेर बोल्नु हुँदैन भन्ने चेतनालाई ‘डलरवादीले ल्याएको’ भन्ने पनि हामी मध्येकै थियौँ। दलित समुदायले दलित भन्ने शब्दमार्फत् संरचनागत दलनलाई सम्झिँदा–सम्झाउँदा बिच्किने पनि हामीभित्रै छौँ। यो बिच्क्याइँ अरू केही होइन, कथित सवर्ण र मर्दहरूको अहङ्कारमा परेको चोट मात्र हो।

अर्कालाई निचो देखाउने नियतले प्रयोग गरिने वा समयक्रममा त्यस्तो अर्थ लाग्ने शबदहरूलाई अंग्रेजीमा एयष्तिष्अबििथ ष्लअयचचभअत शब्द भनिन्छ। त्यसलाई मैले नेपालीमा ‘सामाजिक हिसाबले अस्वीकार्य वा गलत शब्द’ भन्ने गरेको छु। अघिल्लो शताब्दीसम्म अंग्रेजीमा प्रयोग भइ आएका निग्रो, एस्किमो, जिप्सी, रेड इन्डियन जस्ता शब्द आज प्रयोग हुँदैनन्। हामीले पनि लाटा, लङ्गडा जस्ता शब्द प्रयोग गर्न छाडेका छौँ। आधुनिक संसारको एउटा मान्यता के हो–कसैलाई मन नपर्ने शब्द प्रयोग नगर्ने। तर अर्कालाई हेप्न बानी भएकाहरूलाई यस्ता विचार मन पर्दैनन्। मन नपर्ने कुरा गर्नेलाई गरिने सबभन्दा सजिलो गाली हो–डलरे। उसो त यो एउटा छोटो–छोटो लेखकै विषय हो। लेख लेखेको भए पारिश्रमिक पनि पाइन्थ्यो। तर जहाँबाट विष फैलिएको हुन्छ, कुनै उपचार त्यहीँ गर्नुपर्ने हुन्छ। फेसबुक वैचारिक विष फैलिने फैलाउनका लागि सजिलो माध्यम भएको छ र मलाई लाग्यो, यी कुरा यहीँ लेख्नुपर्छ।

तपाईंलाई ‘आइमाई’ शब्दको महानतामाथि ठूलै गर्व छ भने आफ्ना आमा, दिदी बहिनी, श्रीमती र छोरी बुहारीहरूका लागि प्रयोग गरेर उहाँहरूका प्रतिक्रिया हेर्नुहोस्।

मैले महेश्वरजीको स्टेटस शेयर गर्नुको कारण उहाँको स्टेटसमा आएका प्रतिक्रिया हेर्न तपाईंलाई सजिलो होस् भनेर पनि हो।

प्रकाशित: १२ असार २०८१ ०८:४४ बुधबार

#womens #kedar sharma