समाज

‘नेपाली पत्रकारिता निम्छरो अवस्थामा’

नेपालको पत्रकारिता निम्छरो अवस्थामा पुगेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। राष्ट्रिय सरोकार समूह र सजग समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सञ्चार जगतको विश्वसनीयता’बारे छलफल कार्यक्रम चलाएको थियो।

सोही कार्यक्रमका वक्ताहरूले स्रोत र जनशक्तिको अभावमा पत्रकारिता कमजोर अवस्थामा पुगेको बताएका हुन्। कार्यक्रमका प्रमुख वक्ता रहेका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले मुलधारको पत्रकारिताको स्थिती सन्तोष गर्ने ठाउँमा नरहेको टिप्पणी गरे। ‘२० वर्षअघि मुलधारको पत्रकारिता सन्तोषजनक स्थितीमै थियो। प्रेस स्वतन्त्रताका हिसाबले अहिले पनि छ,’ उनले भने,‘तर घट्दो आर्थिक स्रोत, जनशक्तिको पलायनले भने समस्या सिर्जना गर्दै लगेको छ। 

अर्कातिर सामाजिक सञ्जालको भुलभुलैयाले लेखेट्दा परेको दोहोरो मारले निम्छरो अवस्थामा पुगेको छ।’ संघीयता, अधिकारको विकेन्द्रीकरण र जनप्रतिनिधिको प्रेस सल्लाहकारमा हज्जारौं जनशक्ति लाग्दा पत्रकारिता नै मरेको दाहालले बताए। ‘यस्तोमा पत्रकारिता छैन, पिआर(प्रेस वक्तव्य) पत्रकारिता चलिरहेको छ,’ उनले भने । यस्तो अवस्थामा पत्रकारिताले आलोचनात्मक चेत गुमाउँदै गएको उनले बताए । उनले भने, ‘पत्रकारितामा प्रश्न नै रहेन भने पत्रकारिता रहन्न। अहिले त्यहिँ भएको छ । स्रोतसाधनको अभाव, दक्ष जनशक्तिको अभावले समाचारकक्ष शिथिल र प्रभावहीन बनेका छन। सम्पादक निरीह छन्।

’ नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्नु निष्ठुरीले पनि दाहालको कुरामा समर्थन जनाए। ‘जिल्ला जिल्लासम्म लेख्ने पत्रकारको ठुलो जनशक्ति प्रेस सल्लाहकारमा गयो। उनीहरू त्यहाँ जाँदा देखेको नदेखेझैँ गरिरहेका छन्। पाएको सूचना नाघेर हिँड्नुपरिरहेको छ,’ उनले भने। अहिले हाबी हुँदै गएका सामाजिक सञ्जाल पत्रकारिताका सहायक भएपनि अंग भने हुनसकेको वरिष्ठ पत्रकार दाहालको भनाई छ। ‘सामाजिक सञ्जाल अहिले पनि पत्रकारिताका अंग होइनन्। बन्न सकेका छैनन्। विश्वसनीयताका लागि मुलधारको पत्रकारिता बन्नैपर्छ। जो चाहिन्छ नै,’ उनले थपे। सजग समूहका संयोजक प्राध्यापक सुरेश चालिसेले मिडिया नै निम्छरो भइदिँदा नेपाली समाज नै स्थितीमा त पुगेको छैन भनी चिन्ता व्यक्त गरे।‘मिडिया समाजको रिफ्लेक्सन हो । समाज जस्तो छ, मिडिया त्यस्तै हुने हो,’ उनले भने,‘प्रेस नै कमजोर भएको स्थितीमा लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुनु हाम्रा लागि निकै घातक विषय हो। किनभने लोकतन्त्रका लागि हाम्रो धेरै ठुलो संघर्ष ।

’ राष्ट्रिय सरोकार समूहका पूर्वअध्यक्ष द्वारिकानाथ ढुंगेलले सुशासन कायम गर्न र देशको स्वाभिमान बचाउन मिडियाले आफ्नो धर्म निभाउन जरुरी रहेको बताए । उनले भने,‘मिडिया बलियो नभए वा मिडियाले देश र समाजका लागि प्रभावकारी भूमिका ननिभाए सबैलाई घाटा हुन्छ।’ तर यो जिम्मेवारीमा मिडिया कतै भड्किएको हो कि भन्ने चिन्ता नागरिक समाजमा परेको उनी बताउँछन्। 

गुप्तचरी सेवाबाट अवकासप्राप्त देवीराम शर्माले अहिले नेपाली पत्रकारितामा मिस इन्फरमेसन, डिसइन्फरमेस र फिफ्थ कोलमनिस्टको अभ्यास बढ्दैगएको हो कि भनेर शंका व्यक्त गरे। ‘पत्रकारितामा अन्जानमा हुने गल्ति त माफ गर्न सकिएला जानाजान भ्रम फैलाउने र नकारात्मक कुरामा मिसन चलाउने स्थितीले देशलाई नोक्सानी गर्छ,’ उनले भने,‘नेपालका मुलधारका मिडिया यसबाट सचेत बन्नुपर्छ।’

प्रकाशित: ७ असार २०८१ २१:४३ शुक्रबार

#‘नेपाली पत्रकारिता निम्छरो अवस्थामा’