समाज

मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ :निर्देशक लामिछाने

मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौँ पानी पठाइने जानकारी दिए।

उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गर्नुपर्ने अवस्था रहेको बताए। विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताए।

तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए  । कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए । सबै सावधानीका उपायहरू अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए। उनले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको पनि स्पष्ट पारे । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिए। 

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने जानकारी। उनले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आयोजनाले हेडबक्स बन्द गर्ने बताए । आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ।

उनले मेलम्चीको पानी बन्द भए पनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताए । उनले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरू पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने धारणा राखे।उनले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म बागमती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताए।

 उनले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताए  

प्रकाशित: ७ असार २०८१ १५:४७ शुक्रबार

#Melamchi Water Supply Development Committee #Director Ratnaprasad Lamichhane #Melamchi Water Supply Project