समाज

काठमाडौं वर्ल्ड स्कुल सञ्चालनमा

काठमाडौं – राजधानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न काठमाडौं वर्ल्ड स्कुल सञ्चालनमा आएको छ। भक्तपुरस्थित सूर्यविनायक नगरपालिका – ७, गुन्डुमा स्थापना भएको स्कुलमा करिब १ हजार २ सय विद्यार्थीले अध्ययन गर्न पाउनेछन्। 

३८० जना छात्र÷छात्राहरूको आवास गृह रहेको स्कुलमा स्वीमिङ पुलसहित नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल जस्ता १५ भन्दाबढी विभिन्न अतिरिक्त क्रियाकलापहरू हुनेछन्।

विद्यालयका प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार घिसिङ्गका अनुसार स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका साथै ए लेभलको अध्यापन पनि गराउनेछ। शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिएको र कक्षा ११ र ए लेभलको कक्षाहरू शैक्षिक सत्र २०७६ बाट मात्र सुरू हुने उनले बताए। 

प्रमुख कार्यकारी घिसिङ्गका अनुसार काठमाडौ वर्ल्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेशनल प्राइमरी करिकुलम (आइपिसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसी) माध्यामिक तहमा अपनाउने छ। 

आवास (छात्राबास) सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष सयौंको सङ्ख्यामा नेपाली अभिभावकले आफ्ना नानीलाई मुलुकबाहिर खासगरी भारतमा लानुपर्ने स्थितिलाई अन्त्य गर्न र देशभित्रै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्कुल सञ्चालनमा आएको बताइएको छ। 

प्रकाशित: १२ चैत्र २०७४ ०९:३१ सोमबार