समाज

शिक्षालाई सीपसँग जोड्दै पालिका

क्याप्सन: दोस्रो पढाइ मेलाका तस्बिरहरू नागरिक।

बालबालिकाको प्रतिभा र सीपको उचित पहिचानका लागि जुम्लाको हिमा गाउँपालिकाले पालिकास्तरीय दोस्रो पढाइ मेला सम्पन्न गरेको छ। गाउँपालिकाकाे-१ मा रहेको रुपाकोट आधारभूत विद्यालयमा दुईदिने पढाइ मेला सम्पन्न गरेको हो।

शिक्षालाई व्यावहारिक,जीवन उपयोगी बनाउन, शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउन पढाइ मेला आयोजना गरिएको थियो। शिक्षक, विद्यार्थी रअभिभावकको भेला, गाउँपालिकाको शैक्षिक सुधारका लागि दोस्रो पढाइ मेला भन्ने नारा तय गरी मेला सम्पन्न गरेको प्रतिभा प्रस्फुटनको लागि पढाइ मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही बताए।

उनले भने, ‘लुकेरका विद्यार्थीका प्रतिभाहरु उजागार गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ। सामुदायिक विद्यालय सुधार, बालबालिकाको प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि भन्दै पालिकाले वर्षेनी पढाइ मेला गर्दै आइरहेको छ। मेलामा शिक्षालाई व्यवहारिक एवम् सीपसँग जोडेर शिक्षक,अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने लक्ष्य राखिएको छ।’

पहिलो वर्षको मेला हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयमा आयोजना गरेको उनको भनाइ छ। मेलामा गाउँपालिका भित्रका २३ वटा सामुदायिक विद्यालयहरुको सहभागी रहेको थियो। विद्यालयहरुले विद्यार्थीमार्फत आफ्ना कला र प्रतिभाहरु प्रस्फुटन गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै,स्थानीय सरकारले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि गरेको पढाइ मेला एक रचनात्मक कार्य भएको प्रतिनिधिसभा सदस्य रुपा विक बताउँछिन्। शिक्षा सबैको लागि आवश्यक भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्। 

संविधानसभा सदस्य ललितजंग शाहीले शिक्षाबिना कुनै पनि विकासको अर्थ नहुने बताए। शाहीले भने, ‘पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने तथा उनीहरुको ज्ञान सीपको सम्मान गर्ने माध्यम हो।’

यस्तै,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिमाले सिर्जनात्मक र नयाँ कामको सुरुआत गरेको बताए। उनले भने, ‘पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने, उनीहरुको ज्ञान सीपको सम्मान गर्ने थलोको रुपमा रहनेछ।’

यसैबिच,बालबालिकाको भविष्य घर आँगनमा नै तयार पार्ने गरी शिक्षाको जग बसाल्ने प्रयास भइरहेको गाउँपालिका उपाध्यक्ष सुपुर्ना शाहीको भनाइ छ। ‘पढाइ मेला त्यसैको निरन्तरता हो। शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं। शिक्षाको दियो चम्किलो नहुन्जेलसम्म हिमा उज्यालो हुने छैन, त्यो दियो चम्किलो बनाउने काम विद्यालयले गर्नेछ’, उनले भनिन्।

मेलामा गाउँपालिकाका ७ वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका थिए। स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि सामग्री र विद्यार्थीले आफैँले निर्माण गरेका सिर्जनात्मक सामग्रीहरू जस्तै कथा, कविता, निबन्ध, गीत, चित्रकला, हस्तकलाका सामग्री, अन्नबाट नेपालको नक्सा, डोजर, जहाज, हलो जुवा,पानी घट्ट,स्याकु, जाँतो, ओखल, ढिकी  लगायतका चित्र बनाएको थिए।

मेलामा अन्तरविद्यालयस्तरीय देउडा, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य, कम्प्युटर टाइपिङ, मेमोरी गेमलगायत प्रतियोगिता र स्टल प्रदर्शनमा उत्कृष्ट आउने विद्यालय र विद्यार्थीलाई पालिकाले पुरस्कार समेत प्रदान गरेको छ।

दोस्रो पढाई मेलामा अभिभावकको उत्साहजनक सहभागिता देखिएको थियो। निजी विद्यालय प्रतिको आकर्षण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवन उपयोगी बनाउनका लागि पढाई मेला गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए।

पढाइसँगै व्यवहार सिकाउन यो पढाइ मेला सार्थक भएको उनको भनाई छ। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ।

शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ। निजी विद्यालयप्रतिको बढ्दो आकर्षणले सरकारी लगानीका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आर्कषण न्यून छ। स्थानीय तहले पनि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन खासै ठोस नीति ल्याउन सकेका छैनन्।

प्रकाशित: ७ असार २०८१ १०:२८ शुक्रबार

#children #skills #Hima-Rural-Municipality #Rupakot Basic School