समाज

राजधानीमा भेटिएन अखाद्य आँप

फाइल।

राजधानीका विभिन्न स्थानमा गरिएको अनुगमनमा अखाद्य आँप फेला नपरेको अनुगमन टोलीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले संयुक्त रुपमा एक प्राविधिक टोली गठन गरी राजधानीका विभिन्न फलफूल गोदाममा अनुगमनको लागि पठाएको थियो।

सो प्राविधिक टोलीले काठमाडौंको बल्खु, कलंकी, सोल्टीमोड लगायतका १५ वटा फलफूल गोदाममा अनुगमन गरेको थियो। गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार कुनै पनि गोदाममा अखाद्य आँप फेला परेको छैन।

हाल, समय अगावै आँप तथा केरा पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग बढ्दो छ। यही कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको डा. वैद्यले जनाइन्।

डा. वैद्यका अनुसार अनुगमनका क्रममा राजधानीका कुनै पनि गोदाममा ‘कार्वाइड’ प्रयोग भएको पाइएको छैन। अनुगमनपछि टोलीले सचेतनाका लागि विभिन्न ठाउँमा सूचना टाँस्दै कार्वाइड प्रयोग नगर्न आग्रह समेत गरेको थियो।

डा. वैद्यले भनिन्, ‘हामीले देशभर नै अनुगमनको कामलाई तीव्रता दिएका छौं। काठमाडौंमा गरिएको अनुगमनमा कतै पनि अखाद्य आँप भेटिएन। तर, धनगढीमा गरिएको अनुगमनमा केही शङ्कास्पद ठाउँ भेटिएको थियो। त्यस विषयमा गम्भीर अध्ययन गरिरहेका छौं।’

कार्वाइड प्रयोग गरेर पकाइएको आँपले मिर्गौलामा खराबी गर्न सक्ने र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार, यस्तो आँप प्राकृतिक रूपमा पाकेको हुँदैन। यस्तो आँपको कुनै भाग पाकेको जस्तो देखिन्छ, कुनै भाग काँचो रहन्छ, र पाकेको भागमा पनि प्राकृतिक रूपमा गुलियो हुँदैन।

आँप व्यवसायीहरूले विभिन्न जिल्लाबाट काँचो आँप खरिद गरी काठमाडौंमा ल्याएर गोदाममा पकाउने गरेका छन्। सिजनभन्दा पहिले कार्वाइड ग्यासको प्रयोग गरी पकाइने आँपले स्वास्थ्यमा गम्भीर हानी पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।

प्रकाशित: ६ असार २०८१ १९:५५ बिहीबार