समाज

पूर्वी भू-भागमा सक्रिय मनसुन आजदेखि देशका अन्य भू-भागमा पनि भित्रियो

यस वर्षको मनसुन प्रणाली बिहीवारदेखि देशका अन्य भू–भागमा पनि भित्रिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भू–भागमा सक्रिय रहेको मनसुन बिहीवारबाट कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको हो।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गतेबाट कोशी प्रदेशको पूर्वी भू–भागमा भित्रिसकेको छ।

नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ६ असार २०८१ १३:३८ बिहीबार

#bagmati #koshi #gandaki #Lumbini #mansoon