समाज

बाबुको प्रेरणाले किसान बनेका पौडेल

जिल्लाको जैमिनी नगरपालिका–८ छिस्ती फुर्के सल्लाका राजन पौडेल अहिले ३२ वर्षका भए । उनी अहिले गाउँमा भेटिन्नन् । युवाको मात्रै के कुरा गराई भो र, छिस्तीका आधाआधी बस्ती नै खाली भइसके। बसाइँ सरेर जानेहरूका रित्ता घरका छाना भत्किन थालेका छन्। पौडेल भने गाउँमै व्यावसायिक कृषि कर्ममा तल्लीन भएका छन्।

चार वर्षअगाडिसम्म उनी पनि चितवनमा बस्थे। उतै जग्गा भाडामा लिएर माछा पालन गर्थे। कोरोना महामारी फैलिएपछि माछाबाट उनलाई घाटा लाग्यो । त्यसपछि गाउँ फर्किएर आफ्ना बुबाले गर्दै आएको कृषि र पशुपालन कार्यलाई व्यावासायिक रूपमा पेसा बनाउने काममा लागे। चार वर्षअगाडि छिस्ती पाडापाडी तथा भैंसीपालन फार्मको स्थापना गरेर उनले कृषि र पशुलापनलाई व्यावसायिक रूप दिएका हुन्।

‘कोरोनाअगाडि त म चितवनमै माछापालन गरेर बस्थेँ, अरूको जग्गा भाडामा लिएर काम गरेको हुँदा कोभिडको बेला घाटा लाग्यो,’ राजन भन्छन्, ‘त्यसपछि घरमै आएर आफ्नै बुबाले गरिरहेको कामलाई व्यावसायिक रूप दिएको हुँ ।’ उनले अहिले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । त्यसका लागि उनले ६ वटा मुर्रा क्रस भैंसी र तीनवटा होलिस्टिन गाई पालेका छन्। एउटा स्थानीय जातको भैंसी पनि छ। ‘६ वटा मुर्रा क्रस र दुईवटा गाई अहिले दुहुन्छु,’ उनी भन्छन्, ‘एउटा गाई ब्याउनेछ। अहिलेको सुक्खा सिजनमा पनि दैनिक ४० लिटर दूध बजार पठाउँछु।’

भैरव डेरीले प्रतिलिटर ९५ रूपैयाँमा दूध लिने गरेको उनी बताउँछन्। ‘मैले बागलुङ बजारको भैरव डेरीमा दूध पठाउँछु, भाडा मैले आफैं तिर्ने हो,’ उनी भन्छन्, ‘डेरीले प्रतिलिटर ९५ रूपैयाँ भाउ मलाई दिएको छ।’ अहिले उनले पाँचवटा गाईका बाच्छी, चारवटा पाडी र एउटा पाडा हुर्काइरहेका छन्। ती हुर्केपछि दूध उत्पादन पनि बढ्नेछ। सकभर उनले गाईभैंसीलाई दाना खुवाउँदैनन्। घाँसकै भरमा उत्पादन लिने गरेका छन्। अहिले वार्षिक १५ हजार रूपैयाँमा १० रोपनी जग्गा भाडामा लिएर घाँस उत्पादन गर्दै आएका छन्।

उनले पशुपालन मात्रै होइन, मौरीपालन पनि गरेका छन्। अहिले २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेका छन् । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्छन्। अर्गानिक भएकाले घरैबाट एक हजार पाँच सय रूपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ। ‘वर्षमा दुई पटक मात्रै मह निकाल्छौं, अर्गानिक भएकाले दुई पटकबाहेक निकाल्न गाह्रो हुन्छ,’ उनले भने, ‘अहिले घरबाटै बिक्री हुन्छ। अरू घार थप्ने योजना बनाएको छु।’

त्यसका अलावा उनले दुईवटा टनेलमा टमाटर र एउटामा गोबी उत्पादन थालेका छन्। उनको काममा सिंगो परिवारले साथ दिएको छ। कक्षा १२ सम्म अध्ययन गरेका उनी अवस्थाअनुसार उत्पादन बढाउँदै जाने योजनामा छन्। उनका ६१ वर्षीय बाबु रघुनाथ पौडेल यसका लागि प्रेरणा हुन् । उनले नै सुरु गरेको कामलाई छोराले व्यावसायिक रूप दिएका हुन्। कृषि र पशुपालनलाई व्यावसायिक रूपमा दिँदा लागेको ऋण तिर्न बाँकी रहेकाले अहिले नै आम्दानीको हिसाबकिताब नभएको उनको भनाइ छ।

‘गाउँमा कृषि र पशुपालन गर्न गाह्रो त गाह्रै हुने रहेछ,’ रघुनाथ पौडेल भन्छन्, ‘ऋण लिएर सुरु गरेको व्यवसायले अहिलेसम्म त ब्याज तिर्नै पुगेको छैन। सरकारले पनि सहयोग गरिदिए अलि सजिलो हुने थियो । पौडेललाई सरकारी निकायबाट सहयोग नै नभएको भने होइन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले गोठ सुधारका लागि एक लाख पाँच हजार रूपैयाँ सहयोग गरेको छ।  

त्यसैगरी चारवटा पाडापाडी संरक्षणका लागि प्रतिपाडापाडी १० हजारका दरले ४० हजार रूपैयाँ अनुदान सहयोग गरेको छ। जैमिनी नगरपालिकाले गाईभैंसीको पिसाब संकलनका लागि २५ हजार रूपैयाँ सहयोग गरेको छ। १० रोपनी जग्गामा घाँस खेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार रूपैयाँ सहयोग पशु सेवाविज्ञ केन्द्रबाट लिएका छन्। कृषि ज्ञानकेन्द्रबाट मौरी पालनका लागि ५० हजार र टनेल पनि पाएका छन्। व्यावसायिक रूपमा पशुपालनमा लागेको किसानलाई प्रोत्साहन गर्ने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटा बताउँछन्।

‘व्यावसायिक रूपमा पशुपालनमा लागेको किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षणलगायत अन्य विभिन्न शीर्षकमा सहयोग गर्ने काम हामीले गरेका छौं,’ उनी भन्छन्, ‘उत्पादनको आधारमा दूधमा प्रतिलिटर दुई रूपैयाँ ५० पैसाको अनुदान पनि छ। गोठ सुधारलगायत कामका लागि पनि सहयोग गरेका छौं।’ पशुलापक किसानलाई आइपर्ने विभिन्न समस्याको निदानका लागि केन्द्रले आवश्यक परामर्श र औषधी उपचारलगायत प्राविधिक विषयमा पनि सहयोग गर्ने गरेको उनी बताउँछन्। 

प्रकाशित: ५ असार २०८१ ०७:३१ बुधबार

#Rajan-Paudel #burst-out