समाज

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : ६ जना पक्राउ, कलैयामा प्रदर्शन

कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको र नाम खुलाएको प्रहरी भनाइ छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।

शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि जिल्ला सदरमुकाम कलैयाभन्दा २० किलोमिटर टाढा आदर्श कोतवाल गाउँपालिका ३ बतरामा गोली प्रहार गरिएको थियो।

मोटरसाइकलमा आएको तीनजनाको समूहले गोली प्रहार गरेको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

कुशवाहालाई गोली प्रहार गरी गरिएको हत्याको घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको खड्काले बताए। जग्गा कारोबारसम्बन्धी विवादमा हत्या भएको हुन सक्ने आशंका पनि गरिएको उनले बताए। गोली प्रहारमा संलग्नहरु मृतकको चिनजानकै व्यक्ति हुन सक्ने प्रहरी स्रोतले जनाएको छ।

कुशवाहाको हत्यालाई कारबाहीको माग गर्दै शनिबार बिहानैदेखि कलैयामा कुशवाहाका आफन्त, क्याम्पसका विद्यार्थी र शिक्षकहरुले प्रदर्शन गरिरहेका छ्न्।

प्रकाशित: १ असार २०८१ १२:२५ शनिबार

#Campus chief Kushwaha murder case 6 people arrested # demonstration in Kalaiya