समाज

कोठामा बेहोस अवस्थामा भेटिएका नवजोडीको मृत्यु

ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पती जोडीको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी तथा सूचना अधिकारी नरेश सुवेदीका अनुसार उनीहरू दुवै शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेका थिए। शरीरमा कुनै चोटपटक नभएको र कोठाभित्र बोतलमा झोलिलो पदार्थ भेटिएको थियो। उनीहरू नवविवाहित जोडी हुन्।

उनीहरु के कति कारणले बेहोस भए भन्ने यकिन नभएको उनको भनाइ छ। उपचारको लागि दुवैलार्ई पाटन अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याउँदा डाक्टरले दुवै जनालाई ९ २७ मा मृत घोषणा गरेको हो।

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०८१ १२:०० शनिबार