समाज

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा ७० वर्षिय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमति ४८ वर्षिया जसयमाया लिवाङ साम्रा लिम्बू र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षिया गंगा र जमुना रहेका छन्।

पहिरोले स्थानीय ४० वर्षिय युगेन लिम्बू र उनकी ३ वर्षिया छोरी घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुुख डिएसपी रवि रावलले रातको समयमा पहिरो गएको र निद्रामा भएकोले उक्त परिवारका सदस्यहरु भाग्न नपाएको हुन सक्ने बताए।

उनीहरु सबैलाई मृत अवस्थामा फेला पारेको समेत डिएसपी रावलले बताए।

ताप्लेजुङमा बुधवारबाट लगातार वर्षा भइरहेको छ। बिहीवार मात्रै पहिरो तथा बाढीले पुल, ग्रामीण सडक र नदी तथा खोला तटिय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०६:५८ शुक्रबार

#Taplejung #badhi