समाज

संखुवासभामा पहिरोले तीन घर बगायो

फाइल तस्बिर

संखुवासभाको खाँदबारी नगरपालिका- ११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन्।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन्।

खाँदबारी-४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले बताए। चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ। जिल्लामा बाढीपहिरोले के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्दछ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण करिब एक करोड रुपैयाँबराबरको क्षति भएको सडक कार्यालयले जनाएको छ।

-रासस

प्रकाशित: ३१ जेष्ठ २०८१ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App