समाज

नाट्टा अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित

नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

नाट्टाको कोषाध्यक्ष र महासचिव भएका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका थिए।

नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका हुन्।

महासचिवमा युविका भण्डारी विजयी भएका हुन्। सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएका नाट्टाका निर्वाचन अधिकृत अरुण पौड्यालले बताए।

यस्तै सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी हुनुभएको निर्वाचन अधिकृत पौड्यालले बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थपलियाले सरकारको आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न आफूले पहल गर्ने बताए।

उनले हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसक्ने उल्लेख यसलाई खारेज गर्न सरकारसँग माग गरे। अध्यक्ष थपलियाले भैरहवा र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।  

प्रकाशित: २६ जेष्ठ २०८१ १०:५५ शनिबार

#Chairman #Kumarmani Thaplia #Natta