समाज

कटारीमा सेनाले गर्‍यो ‘विपद् उद्धार नमुना प्रदर्शन’

नमुना प्रदर्शनीपछि सुरक्षाकर्मीलगायत। तस्बिर : नागरिक

नेपाली सेनाले शुक्रबार कटारीमा विपद्बाट बच्ने उपायबारे उद्धार कार्यको नमुना प्रदर्शन (सिम्युलेसन) आयोजना गरेको छ। सेनाको पशुपति गणअन्तर्गत कटारी पीपलटार गुल्मको आयोजनामा कटारी ५ सिमसारस्थित मानवनिर्मित तलाउमा उपायबारे सिम्युलेसन प्रदर्शन गरेको हो।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सेसाइटी, स्वास्थ्यकर्मी र विपद् उद्धारसँग सम्वन्धित सरोकारवाला निकाय र व्यक्तिहरूको समन्वयमा बाढी प्रभावित पीडितको उद्धार र बचाउको तरिकाबारे प्रदर्शन भएको हो।

बाढीमा फसेकाहरूलाई उद्धार गर्न आवश्यक घरेलु तथा स्थानीय सामग्री निर्माण, प्रयोग र बचाउका तरिका अभ्यासद्वारा देखाइयो। बाढीबाट विस्थापित पीडितहरूको उद्धार गरेपछि छिटो उपचार र व्यवस्थापनबारे पनि अभ्यास गरेर देखाइएको थियो।

सिम्युलेसनमा डुङ्गा पल्टेर दुर्घटना हुँदा बँच्ने तरिकाको नमुना प्रदर्शन पनि गरियो। विपद्मा परेकाको उद्धारपछि छिटोभन्दा छिटो उपचार गर्न अस्पताल लैजाने, चिकित्सक बोलाउने, उपचार गर्ने तथा अन्य क्षतिबारे तथ्यांक संकलन गरेर व्यवस्थपन गर्नेलगायत विषय पनि प्रदर्शन गरेर देखाइएको थियो।

नमुना प्रदर्शनी कार्यक्रममा इलाका प्रशासन कटारीका प्रमुख उपसचिव भीमप्रसाद भट्टराईले मनसुन सुरु भइसकेको अवस्थामा बचाउका लागि पूर्व तयारीमा लाग्न सबैलाई आग्रह गरे।

अहिले बाढी–पहिरोको मौसम आइसकेकाले प्रदर्शनीले सर्वसाधारणलाई सचेत गराएर जनधनको क्षति हुनबाट रोक्ने अपेक्षा गरिएको उनले बताए। विपद्बाट बच्न प्रदर्शनी महत्वपूर्ण हुने भन्दै भट्टराईले दैवी प्रकोप आइपरेमा उद्धार र बचाउमा तत्काल लाग्न मातहत निकायलाई उनको निर्देशन थियो।

विपद् आइपरेका बेला सबभन्दा पहिला छिटोभन्दा छिटो सूचना संकलन महत्वपूर्ण हुने र त्यसपछि उद्धार, उपचार र व्यवस्थापन गर्नुपर्ने हुनाले प्रहरी, सुरक्षाकर्मी र प्रशासन जहिल्यै तयारी हालतमा रहनुपर्ने उनले बताए।

कटारी नगरपालिका विपद् व्यवस्थापन समिति संयोजक बेगबहादुर मगर, फोकल पर्सन सुदिप श्रेष्ठ, रेडक्रस प्रतिनिधि तथा विद्यार्थी र  सुरक्षाकर्मीको सहभागिता रहेको कार्यक्रमले विपद्बाट बँच्न स्थानीयलाई सचेत गराएको आयोजकको दाबी छ।

प्रकाशित: २५ जेष्ठ २०८१ १३:०९ शुक्रबार

Nepali Army disaster relief model demonstration