समाज

दुई दिनअघि नै हाजिर गर्छन् कर्मचारी

मधेस प्रदेशमा आधाभन्दा बढी सरकारी कर्मचारी हाजिरी स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ। केही कर्मचारी भने एकदुई दिनअघि नै हाजिर गरेर घर बस्ने गरेका छन्।

राष्ट्रिय सतर्कता केन्द्रले वैशाख २४ देखि जेठ ४ सम्म अनुसन्धान अधिकृत बुद्धि खनालको संयोजकत्वमा एउटा टोली बनाएर बागमती प्रदेशका चितवन र सिन्धुली तथा मधेस प्रदेशका पर्सा, बारा, रौतहट र धनुषाका विभिन्न कार्यालयमा छड्के अनुगमन गरिएको थियो। अनुमगनका क्रममा सतर्कताका कर्मचारीहरू ती दुई प्रदेशका २९ वटा सरकारी कार्यालयमै पुगेका थिए।

छड्केपछि सतर्कताले एउटा रिपोर्ट तयार गरेको छ। छड्केमा ४०१ कर्मचारी बिदा स्वीकृति नगरी कार्यालय समयमा कार्यालयमा अनुपस्थिति भेटिएको निष्कर्ष रिपोर्टको छ। ‘यो भनेको हामीले छड्के गरेका कार्यालयहरूमा आधाभन्दा बढी कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने गरेको अवस्था हो,’ खनालले भने, ‘विशेष गरी मधेस प्रदेशका विभिन्न कार्यालयमा चरम बेथिति देखियो। केही कर्मचारीले भने एक दुई दिनअघि नै हाजिरी गरेर घर बस्ने गरेको समेत पाइयो।’

३६ जनामा ३२ गयल

छड्केका क्रममा सतर्कताका कर्मचारीहरू जेठ ४ गते २ बजेर १२ मिनेट जाँदा नापी कार्यालय चितवनमा पुगेका थिए। त्यतिबेला नापी कार्यालय चितवनमा कार्यरत ३६ कर्मचारीमध्ये ३२ जना अनुपस्थिति भएको पाइएको छ। चार जना कर्मचारी त तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित भएको पाइएको छ।

सतर्कताको यस दाबीलाई नापी कार्यालय चितवनका प्रमुख सुभाष भण्डारीले भने अस्वीकार गरे। ‘यति ठुलो संख्यामा कर्मचारी अनुपस्थित भए सेवा प्रवाह ठप्पै हुने थियो। त्यस दिन हामीले सेवा प्रवाह गरेकै थियौं,’ उनले भने। छड्केको टोली सडक डिभजिनको कार्यालय चितवनमा पुग्दा त्यहाँका प्रमुख रमेश पौडेलसहित १७ कर्मचारी कार्यालय समयमा कार्यालय पुगेका थिएनन्। उनीहरूले बिदा पनि स्वीकृत गराएकै थिएनन्।

यसैगरी उक्त मितिमा छड्केको टोली इच्छामनकामना गाउँपालिका चितवन पुग्दा ४० जना कर्मचारी बिदा स्वीकृत नगराई कार्यालय नगएको पाइएको छ।

त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत चन्द्रमान बस्नेत स्वयं पनि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थिए। कार्यालय नआए पनि हस्ताक्षर छड्केका क्रममा माथिल्लो तहका पनि अधिकांश कर्मचारी कार्यालय समयमा कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो।

मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलले आफ्नो हाजिरी कापीमा काज बिदा लेखे तर त्यस दिन उनी आफ्नो घर झापा गएको पाइयो। तर उनले काज स्वीकृति फाराममा भने झापा जानुपर्ने विवरण उल्लेख नगरी रौतहट जाने लेखेका छन्। हाजिरी कापीमा रौतहट लेखे पनि उनी झापा पुगेका थिए। यो तथ्य सतर्कताले पछि पत्ता लगाएको हो।

यसैगरी सबैजसो मन्त्रालयका सचिव तथा अन्य कार्यालयमा प्रमुख नै कार्यालय समयमा उपस्थिति भएको पाइएन। तर मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सरोजकुमार गोइतले भने कार्यालयमा भएर पनि हाजिरी गर्ने गरेका छैनन्। अनुसन्धान अधिकृत खनालका अनुसार केही कार्यालयका प्रमुख र लेखा अधिकृतले फायल, रजिस्टर तथा महŒवपूर्ण कागजात आफ्नो झोलामा बोकेर हिँड्ने गरेको पाइएको छ।

 ‘कार्यालय समयमा कार्यालयमा अनुपस्थित कर्मचारीहरूले उक्त दिन गरेको निर्णय र हस्ताक्षरले वैधता पाउने कि नपाउने भन्ने प्रश्न उठ्न सक्छ,’ अनु्सन्धान अधिकृत खनालले भने, ‘केही कार्यालयमा प्रमुख नै अनुपस्थित भएका छन् तर हाजिरी रजिस्टरमा उनले हाजिरी भने गरेको पाइएको छ।’

सतर्कताको रातो घेरामै हाजिरी

सतर्कताको टोली वैशाख २५ गते मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयमा पुगेको थियो। त्यतिबेला स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादव कार्यालय समयमा अनुपस्थिति थिए।

सतर्कताका कर्मचारीहरूले यादवको हाजिरी रजिस्टरमा उक्त दिनमा रातो घेरा लगाइदिए। त्यसको भोलिपल्ट यादव कार्यालय पुगे। तर उनले सतर्कताले लगाएको रातो घेरालाई अटेरी गरी घेरामाथि आफ्नो हाजिरी गरे। यसको जानकारी सतर्कताको टोलीले पाइसकेको छ।

यसैगरी बाराको गढीमाई नगरपालिकामा सतर्कताको टोली पुगेको बेला त्यहाँका प्रशासन प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित ३७ कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा अनुपस्थित थिए। टोली पुग्दा नगरपालिका पुग्दा कार्यालयका सबै कोठा सुनसान थिए।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:४० शुक्रबार

National Vigilance Center Vigilance in Madhes