समाज

विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन गृहमन्त्रीलाई दलहरुको सुझाव

राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्।

गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’ मा तल्लो स्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन्। २०७२ सालको भूकम्पका बेला पु¥याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र उद्धारको कर्तव्यबोध तथा स्वयंसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरुलाई प्रयोग गर्नुपर्ने उनीहरूको जोड थियो।

एकीकृत समाजवादीका नेता डा.गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए।

त्यस्तै, भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढङ्ग पु¥याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताए।

माओवादी केन्द्रका नेता सूर्य सुवेदीले सङ्घदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सर कारबिच समन्वय गराउन भूमिका पनि खेल्ने बताए।

यसैगरी, एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयम सेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत–साधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औँल्याए।

छलफलमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरूसँग छलफल गर्न सुझाव दिए।

दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक होस् या प्राकृतिक विपद्मा एकजुट हुने नेपालका दलहरुको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयम सेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरुको योगदान महत्त्वपूर्ण हुने अपेक्षा राखे।

दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव ग्रहण गर्दै मन्त्री लामिछानेले तीनै तहको सर कारबिच समन्वय गराउन पनि त्यो फोरम प्रभावकारी हुने बताए। 

प्रकाशित: २४ जेष्ठ २०८१ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App