समाज

खोटाङको साकेलामा बन्दै छ विश्वकै नमूना एकीकृत साँस्कृतिक बस्ती

किरात सँस्कार अनुसार ३ चुला पुगेर योजनाको शिलान्यास गर्दै नछुङ (धामी) सहित अध्यक्ष र उपाध्यक्ष। तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिकामा विश्वकै नमूना साँस्कृतिक पर्यटकीयस्थल बन्न सुरू गरिएको छ। गाउँपालिकाकै प्रमुख पर्यटकीयस्थल बनाउने उद्देश्यले ‘एकीकृत बस्ती विकास’ अन्तर्गत नमूना सांस्कृतिक घरसहितको पर्यटन केन्द्र बनाउन लागिएको हो।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका विभिन्न १३ जातजातिको धर्म, संस्कार र संस्कृति झल्काउने पुरातात्त्विक तथा साँस्कृतिक घरहरू निर्माण गर्ने गरी वडा-३ को खिदिमास्थित पर्यटकीय क्षेत्र तावाभञ्ज्याङमा यो योजना अघि बढाइएको हो। गाउँपालिकाको पहलमा सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आर्थिक वर्ष प्राप्त ४३ लाख  बजेटबाट साँस्कृति घर निर्माणको काम सुरू भएको हो।

नमूना साँस्कृतिक घर निर्माणको शिलान्यास मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रूपमा गरे। पहिलो चरणमा किराँत राई जातिको धर्म संस्कार र संस्कृति झल्कने ऐतिहासिक घरको निर्माण गर्ने गरी काम अघि बढेको छ। कार्यक्रममा अध्यक्ष र उपाध्यक्षद्वयले किराती समुदायको रीतिरिवाज र परम्परा अनुसार ३ चुला पुजेर नमूना साँस्कृतिक घरको शिलान्यास गरे।

वडाध्यक्षहरू हेमन राई, गोविन्द तामाङ र प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा साँस्कृतिक घर शिलान्याससँगै साकेला उँभौली नाचेर शुभकामना आदानप्रदान गरिएको थियो। स्थानीय नछुङ (धामी)ले किराँत संस्कार र रीतिरिवाज अनुसार तय गरेको ३ चुला पुजेर, ढोल झ्याम्टा बजाउँदै शिली चाच्दै घर निर्माणको औपचारिक काम सुरू भएको हो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले चालु वर्ष किराँत राई समुदायको जातीय साँस्कृतिक घर निर्माण गर्दै ‘एकीकृत साँस्कृतिक गाउँ’ निर्माण कार्य सुरू गरिएको बताए।

उनले गाउँपालिकाका सबै जातजातिलाई समेटेर १३ वटै साँस्कृतिक घर निर्माण सम्पन्न गरेपछि पर्यटनस्थल घोषणा गरी विकास गर्दै लाने योजना रहेको सुनाए। गाउँपालिकाको लक्ष्यअनुसार अघि बढ्न सबै जातजाति, समुदाय, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयबासीलाई आग्रह गरे।

गाउँपालिकालाई पर्यटनको माध्यमद्वारा समृद्ध र विकसित बनाउने दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको बताउँदै अध्यक्ष राईले यो महान् कार्यलाई सबै क्षेत्रबाट साथसहयोग चाहिएको बताए।

तावाभञ्ज्याङ क्षेत्रलाई साकेला गाउँपालिकाको प्रमुख पर्यटकीय हवको रूपमा विकास गर्दै दीर्घकालीन योजनाका साथ एकीकृत नमूना साँस्कृतिक बस्ती बनाउने योजनाले यहाँ बसोबास गर्ने सबै जाति र समुदायलाई आआफ्नो पहिचान दिलाउने उनको भनाइ थियो। सबै जातजातिको पहिचान झल्काउने संरचना तयार गरेपछि तावाभञ्ज्याङ क्षेत्र विश्वकै नमूना पर्यटकीयक्षेत्रको रूपमा विकास हुने अध्यक्ष राईले ठोकुवा गरे।

तावाभञ्ज्याङमा रहेको तावाताल तथा अन्य धार्मिक तथा ऐतिहासिकस्थल घुम्न आउनेहरूका लागि एकीकृत नमूना साँस्कृतिक बस्ती बनाएर त्यसलाई ‘धार्मिक पार्क’को रूपमा स्थापित गर्ने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष राईको भनाइ छ।

तावाभञ्ज्याङ घुम्न आउने हरेक पर्यटकले संसारकै नमूना र बहुआयामिक पर्यटकीयस्थलको रूपमा बुझ्न र अध्ययन गर्न पाउने ठाउँको रूपमा यसलाई विकास गर्नै लागिएको राईको दावी छ।

सो क्षेत्रमा निर्मित संरचनायुक्त बहुसाँस्कृतिक घरहरूलाई पर्यटकीय सेवाका लागि होमस्टेको रूपमा विकास गरी सञ्चालन गरिने योजना पनि अध्यक्ष राईले सुनाएका छन्। प्राविधिक इस्टिमेट अनुसार त्यहाँ बन्ने हरेक घरहरू २ तलाको हुनेछन्। पहिलो तलामा जातीय संस्कार, संस्कृति झल्कने र ऐतिहासिक महत्त्वका सामग्रीसहितको सङ्ग्रहालय राखिनेछन् भने माथिल्लो तलामा अतिथि बस्ने सुविधायुक्त २ ओटा कोठा हुने बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छ।

पार्क वरिपरि निर्माण हुने १३ जातजातिको पहिचान र संस्कृति झल्कने घरहरूको बीचमा अर्को १३ ओटै जातजातिको पहिचान झल्कने सामूहिक घर निर्माण हुने इस्टिमेट पनि डिपिआरमा उल्लेख छ। जहाँ रिसेप्सनसहितको सभाकक्ष बनाएर सामाजिक कार्यक्रम, छलफल तथा बैठक बस्न उपयोग गरिने अध्यक्ष राईको भनाइ छ।

साकेला गाउँपालिकाभित्र १३ जातजातिको बसोबास रहिआएकाले स्थानीय सरकारले आफ्नो राज्यभित्रका जातजातिलाई समेटेर सो एकीकृत नमूना साँस्कृतिक बस्ती निर्माण गर्न लागेको जनाएको छ। त्यसरी गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिलाई सम्बोधन गर्ने खालको एकीकृत नमूना साँस्कृतिक बस्तीसहितको पर्यटकीयस्थल बनाउने साकेला नेपालमा एक मात्र स्थानीय तह हुने र विश्वमै पहिलो स्थान हुने दावी अध्यक्ष राईको छ।

साकेलालाई समृद्धिको गन्तव्यमा र्‍याउने प्रमुख आधार भनेकै पर्यटन पूर्वाधार भएको ठहरका साथ तावाभञ्ज्याङमा तावा ताल, धार्मिक पार्क जस्ता संरचना निर्माणको योजनालाई गाउँपालिकाले महत्त्वाकांक्षी योजनाको रूपमा लिएर आवधिक योजनामै समावेश गरेको छ। तावाताल र धार्मिक पार्कको डिपीआर अनुसार साँस्कृतिक बस्ती निर्माण गर्नका लागि स्थानीयबासीको अगुवाइमा उपभोक्ता समिति गठन पनि गरिएको छ।

स्थानीयहरूले गाउँपालिकाको यो योजना अत्यन्त महत्त्वपूर्ण, दूरगामी र लोकतान्त्रिक भएको भन्दै प्रशंसा गरेका छन्। स्थानीय मिनराज राईले साँस्कृतिक बस्ती निर्माणको काम विश्वकै नमूना भएको भन्दै यस्तो महत्वकांक्षी योजना जसरी पनि पूरा गरेरै छाड्नुपर्ने बताएका छन्। नेतृ शान्तिकला राईले गाउँपालिकाले अघि सारेको यस्तो दीर्घकालीन र दुर्गामी महत्व राख्ने योजनालाई सबैले साथ सहयोग गरेर बेलैमा सम्पन्न गर्नुपर्ने बताइन्।

पर्यटन प्रवर्द्धनबाट मात्र गाउँपालिकाको भविष्य सुन्दर हुने भएकाले यस्ता योजनाहरूलाई सामूहिक रूपमा सम्पन्न गरेर पर्यटन विकासमा सहयोग गर्नुपर्ने अर्का स्थानीय रत्न कटुवाल बताउँछन्। स्थानीय भैरव बुढाथोकीका अनुसार हरेक जातजाति र समुदायलाई सम्बोधन गर्दै निर्माण गर्न लागेको यो योजनालाई सबै मिलेर बेलैमा सम्पन्न गरी पर्यटकीय आकर्षण दिनुपर्ने बताए।

मनीकुमार विश्वकर्माका अनुसार गाउँपालिकाभित्र रहेका सबै जातजाति र समुदायलाई सम्बोधन गर्ने खालको यस्तो बृहत र महत्त्वपूर्ण योजनाले गाउँपालिकाको भाग्य र भविष्य उज्ज्वल बनाउने छ।

यो परियोजना सम्पन्न भएपछि गाउँपालिकाभित्र बस्ने सबै समुदायका नागरिकहरूले आफ्नो बिम्प पाउने हुनाले यो ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय सबै हिसावले महत्त्वपूर्ण हुने अर्का स्थानीय चिरीमाया परियारको बुझाइ छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १०:०५ बिहीबार

Sakela of Khotang will become a model integrated cultural settlement of the world Integrated Settlement Development