समाज

ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

विश्व वातावरण दिवस :

विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

ललितपुरको वार्ड नं-१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाह, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वृक्षारोपण गरेका थिए।

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, वडा नं-२ का वडा अध्यक्ष राजेश महर्जन, वडा नं-४ का वडा अध्यक्ष सन्तोष खड्का लगायत समाजसेवी र वातावरणप्रेमीहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाहले पृथ्वी जोगाउनु सबैको दायित्व भएको बताए। प्रत्येक व्यक्तिले वातावरण जोगाउन काम गर्नुपर्ने बताउँदै उनले आफूले पनि एक हजार बिरुवा रोपेको सुनाए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले वातावरण जोगाउन महानगरले वृक्षारोपणलाई महत्व दिएको बताए। खाली ठाउँ, सडकको किनारा लगायतको ठाउँमा महानगरले विरुवा रोपेको उनले जानकारी दिए

नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तवले वातावरण संरक्षणका लागि नेपाल सरकार र ललितपुर महानगरसँग भारत सरकार काम गर्न तयार रहेको उल्लेख गरे।

वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन महानगरसँगको सहकार्यमा वृक्षारोपणको कार्यक्रम आयोजना गरिएकाे उनकाे भनाइ थियाे।

व्यक्तिगत तथा सामूहिक प्रयासले वातावरण संरक्षण गर्न सकिने बताउँदै ती प्रयासलाई प्रोत्साहित गर्नुपर्ने उनले धारणा राखे। कार्यक्रममा एक सय ५० भन्दा धेरै विरुवा रोपिएको थियो।

प्रकाशित: २३ जेष्ठ २०८१ १५:४५ बुधबार

#Lalitpur Metropolis #Indian Embassy