समाज

धनुषा प्रहरी प्रमुखमाथि हातपातको प्रयास, ७ जना पक्राउ

मिटरब्याजी पीडितले धनुषा प्रहरी प्रमुखमाथि हातपात गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका उनीहरूले प्रहरी उपरीक्षक भुवनेश्रर तिवारीमाथि हातपात गरेका छन्।

करिब डेढ सयको संख्यामा जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर नाराबाजी गरिरहेकाबेला कार्यालय भन्दा बाहिर रहेका उपरीक्षक तिवारी सोही समयमा कार्यालय भित्र प्रवेश गर्न खोज्दा मिटरब्याजी पीडितहरुले गेटमै उनको गाडी रोकेर उनीमाथि हातपातको प्रयास गरेपछि प्रहरीले सातजनालाई पक्राउ गरेका छन्।

प्रहरी उपरीक्षक तिवारीमाथि हातपात गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१७ का ५७ वर्षीय रामदयाल साह, ९ का ५४ वर्षीय अमलेश यादव, १४ का ६३ वर्षीय कोलक्ष्मण महतो, मिथिला बिहारी नगरपालिका ८ का ४८ वर्षीय रामप्रवोध यादव, गणेशमान चारनाथ नगरपालिकाका-११ का २१ वर्षीय पुरूषोत्तम अधिकारी, नगराईन नगरपालिका २ का ३१ वर्षीयअनिल कुमार यादव र बटेश्वर गाउँपालिका-५ का ५२ वर्षीय नरेश यादवलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

कार्यालयको गेटमा भिड देखेपछि तिवारीले गाडीको सिसा खोल्न बित्तिकै पीडित भनिएका भिडले हातपात गरेको डिएसपी अवाले बताए।

सोमबार मिटरब्याजी पीडित भनिएकाहरु प्रदर्शन उत्रेका थिए। उनीहरू दिउँसो जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर नाराबाजी गर्दै थिए। डिएसपी अवाले भने ‘एसपी साब ईलाका प्रहरी कार्यालय यदुकूहाले आयोजना गरेको नागरिक सुनवाइ कार्यक्रममा पुगेका थिए, त्यहाँबाट फर्केर कार्यालयमा प्रवेश गर्न खोज्दा पहिल्यैदेखि गेटमा उभिरहेका उनीहरूले गाडी रोकेर एसपीमाथि हातपात गर्न खोजेका हो।’

प्रहरी उपरीक्षक तिवारीमाथि हात गर्ने खोजेपछि प्रहरीले लाठी चार्ज गरेर भिडलाई तितरबितर गरेका थिए। सोही क्रममा केहि मिटरब्याजी पीडित र चारजना प्रहरी समेत सामान्य घाइते भएको डिएसपी अवाले बताए।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धानका लागि नियन्त्रण राखेको छ।

प्रकाशित: २२ जेष्ठ २०८१ १०:५४ मंगलबार

#Suffering from meterbagging #Dhanusha police chief