समाज

कहिले खुल्लान् बन्द ट्रायल सेन्टर?

काठमाडौं उपत्यकामा रहेका पाँचवटा ट्रायल सेन्टर १५ दिनयता बन्द छन्। ती ट्रायल सेन्टर खुलाउने पहल भइरहेको बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। ट्रायल सेन्टर बन्द हुँदा करिब ५ हजार सेवाग्राही मर्कामा परेका छन्।

मन्त्रालयले ट्रायल सेन्टरबारे अध्ययनका लागि गठन गरेको प्राविधिक टोलीले मन्त्रालयलाई शुक्रबार मात्र प्रतिवेदन बुझाएको छ। ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक पूर्वाधार तयार गरे/नगरेको विषयमा यातायात मन्त्रालयले मेकानिकल इन्जिनियर रामसुन्दर कुसीको संयोजकत्वमा एउटा प्राविधिक टोली गठन गरेको थियो। टोलीले मन्त्रालयका सचिव बलराम निरौलालाई प्रतिवेदन बुझाएको हो।

निरौलाले प्राविधिक टोलीले ट्रायल सेन्टरबारे अध्ययन गरेर प्रतिवेदन बुझाएको जानकारी दिए। ‘बन्द ट्रायल सेन्टर अब एक÷दुई दिनमै खोल्ने तयारी भइरहेको छ,’ निरौलाले भने, ‘तोकिएको मापदण्डअनुसार पाँचवटै ट्रायल सेन्टरले भौतिक पूर्वाधार सच्याइसकेको हामीले पाएका छौं।’

उपत्यकाका पाँचवटा ट्रायल सेन्टरहरूले गत जेठ ४ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल) को सेवा बन्द गरेका हुन्।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना तथा भक्तपुरको बुढाथोकी ड्राइभिङ सेन्टरले ट्रायल सेवा बन्द गरेका हुन्।

ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। गत जेठ ४ गते उपत्यकाका पाँच सेन्टरबाट करिब दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी भएको थियो। तर प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।

सतर्कताले तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न निर्देशन दिएको छ। केन्द्रले उपत्यकामा सञ्चालित केही ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ। सतर्कताले गत चैतमा एउटा टोली बनाएर उपत्यकाका सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूको विषयमा विस्तृत अध्ययन तथा अनुगमन गरेको थियो।

टोलीमा रहेका सदस्यहरूले ट्रायल सेन्टरमै गएर अध्ययन गरेका थिए। जसअनुसार उपत्यकाका ट्रायल सेन्टरहरूले निर्देशिकाविपरीत प्रयोगात्मक परीक्षा लिएको केन्द्रले तयार गरेको प्रतिवेदनमा उल्लेख छ। ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको प्रतिवेदनमा जनाइएको छ।

सतर्कताले ट्रायल दिँदा सवारी चालकले आफ्नै सवारी प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन प्रदेश यातायात मन्त्रालयलाई चिठी लेखेर निर्देशन दिएको छ। यस विषयमा प्रदेश यातायात मन्त्रालयले सतर्कतालाई चिठी लेखेर जवाफ पठाएको छ। तर यसबारे प्रस्ट पारेको छैन। ट्रायल सेन्टर प्रदेश यातायात मन्त्रालयमातहत रहने व्यवस्था छ।

पुल जोखिममा पारेर ड्राइभिङ सेन्टर

सतर्कता केन्द्रले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको हनुमन्ते खोलाको पुललाई जोखिममा पारेर इजी वे ड्राइभिङ ट्रेनिङ सेन्टरले ट्रेनिङ सेन्टर तथा प्रयोगात्मक परीक्षा केन्द्र सञ्चालन गर्दै आएको छ। यस विषयमा अध्ययन गर्न सतर्कताले गत वैशाखमा इन्जिनियरहरूको एउटा टोली गठन गरेको थियो।

उक्त टोलीले केन्द्रलाई प्रतिवेदन बुझाएको छ। जसमा इजी वेले हनुमन्ते खोलाको पानीको बहाव नै परिवर्तन गरी सार्वजनिक जग्गा अतिक्रमण गरेको रिपोर्टमा उल्लेख गरिएको छ। उक्त रिपोर्ट केन्द्रका सचिव रामआधार साहलाई बुझाइएको छ।

रिपोर्टमा उक्त ड्राइभिङ सेन्टरले हनुमन्ते खोलाको पुलको एउटा भाग नै कभर हुने गरी अतिक्रमण गरिएको उल्लेख छ। पुलको बायाँ भागमा सार्वजनिक जग्गा छ। उक्त जग्गा समेत इजी वेले अतिक्रमण गरी ट्रायल सेन्टरका रूपमा प्रयोग गर्दै आएको केन्द्रको रिपोर्टमा उल्लेख छ।

सार्वजनिक जग्गा अतिक्रमण गरिएकाले भक्तपुर भाटभटेनीनजिकै १७ तले भवनअगाडिबाट हनुमन्ते पुलसम्म पैदल हिँड्ने बाटो नै गायब गरिएको केन्द्रका प्राविधिक कर्मचारीहरूको भनाइ छ।

हनुमन्ते खोलाको पानीको बहाव नै परिवर्तन गरी संरचना तयार गरिएकाले पुल जोखिममा परेको निष्कर्ष निकालिएको छ। यसबाट पुलको पूर्वतिरको किनारामा तथा पुलको टेवा पर्खालमा समेत गम्भीर असर परेको रिपोर्टमा जनाइएको छ। केन्द्रका प्राविधिक कर्मचारीहरूले अरनिको राजमार्गका अन्य ठाउँका बारेमा पनि अध्ययन गरेका थिए। हनुमन्ते खोलाको पुलमा भने जोखिम बढेको उनीहरूले निष्कर्ष निकालेका छन्।

प्रकाशित: २० जेष्ठ २०८१ ०६:४२ आइतबार

National Vigilance Center Flow of water of Hanumante river When will the closed trial center open?