समाज

नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिला पक्राउ

विभिन्न आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। रेष्टुरेन्टमा वेटरको काम भन्दै नाबालिकालाई यौन कार्यमा लगाएको भन्दै ती महिलालाई पक्राउ गरेको मानब बेचबिखन अनुसन्धान ब्युरोले जानकारी गराएको हो।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-९ की २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट बेलकोटगढी नगरपालिका ४ की २६ वर्षीया निशा भन्ने रमिला नेपाली पक्राउ परेकी हुन्।

श्रृजनाले सञ्चालन गरेको मित्रपार्क स्थित स्वागतम रेस्टुरेन्ट एन्ड बारबाट ३ जना नाबालिकाहरुको उद्धार गरिएको ब्युरोका प्रहरी एसपी गौतम मिश्रले जानकारी दिए। उनीहरू शुक्रबार काठमाडौं महानगरपालिका-७ बाट पक्राउ परेका एसपी मिश्रले बताए।

एसपी मिश्रका अनुसार उनीहरूले नाबालिकालाई राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारी काममा लगाएका थिए। रेष्टुरेन्टमा वेटरको काम भन्दै खाजा खान आउने व्यक्तिहरूसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको हो।

ती पीडित नाबालिकाहरूलाई उनीहरूले दैनिक ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी मिश्र बताउँछन्। रेष्टुरेन्टमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनिए पनि त्यो पनि नदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आर्थिक अवस्थाले घेरिएका नाबालिकालाई विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचनाको आधारमा खटिएका ब्युरोको टोलीले नाबालिकाको उद्धार गरी आरोपी दुबै जना महिलालाई पक्राउ गरेको हो।

ती पक्राउ परेका महिलामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। साथै यस घटनामा अन्य व्यक्तिको संलग्नता भए खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी गराएको छ। 

प्रकाशित: १४ जेष्ठ २०८१ १०:५२ सोमबार

#arrested #Sex trade with minors #Two women restaurant