समाज

सगरमाथामा कीर्तिमान बनिरहेका बेला के गर्दैछन् न्युयोर्कका शेर्पा ?

अमेरिकाको न्युयोर्कमा नेपाली शेर्पाहरूको बाक्लो उपस्थिति छ। तीमध्ये ३८ वर्षीय दावा शेर्पा आफूले सगरमाथा चढेको दाबी गर्छन्। कति पटक सगरमाथा चढियो गन्नै छाडेको दाबी गर्छन् । उनको छेउमा ५५ वर्षे सेराप शेर्पा पनि छन्। उनी संसारकै दोस्रो अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन्।

यस्तै अर्का ३८ वर्षे काजी शेर्पाले ६ दिनमा दुई पटक सगरमाथा चढेका थिए। उनी सन् २०१५ मा आएको हिमपहिरोमा धन्नले बाँचेका थिए। नेपालमा भविष्य नदेखेर अमेरिकामा जीवन बिताइरहेका छन्। यहाँ उनीहरूको संख्या मनग्य छ।

संख्या मनग्य भएकै कारणले गत वर्षको सगरमाथा दिवसमा उनीहरू सिटी काउन्सिलमा गएर ७५ औँ गल्लीस्थित ब्रोड वेदेखि वुडसाइडसम्मको भागलाई तेन्जिङ नोर्गे शेर्पा गल्ली नामकरण गर्न सफल भएका छन्।

नेपालको उत्तरी हिमाली भेगका यी आदिवासीलाई नचिन्ने धेरैले शेर्पा थरलाई हिमाल चढ्ने पदवी ठान्छन्। उच्च दबाबयुक्त क्षेत्रमा बस्ने भएकाले उनीहरूलाई ठूला पहाड चढ्न त्यति समस्या हुँदैन। त्यसैले संसारका उम्दा आरोहीमा शेर्पाहरू नै छन्।

नेसनल एकेडेमी अफ साइन्सेसले हालै प्रकाशन गरेको अध्ययनअनुसार शेर्पाहरूमा विशेष किसिमको तन्तु हुन्छ। सो तन्तुले अक्सिजन सहजै उपयोग गर्न सक्छ। अन्यको तुलनामा यो सहजताका कारण उनीहरूमा उच्च हिमाली भेगमा पनि ऊर्जाशील जीवन बिताउन सहयोग पुर्‍याउँछ। जबकि अरूलाई हिमाली भेगमा श्वास फेर्न पनि गाह्रो हुन्छ।

सयौँ वर्षदेखि उच्च हिमाली भेगमा रहँदै बस्दै आएका र जीवन यापनका लागि कठोर संघर्ष गरेका कारण उनीहरूमा यस किसिमको प्रणाली विकसित भएको विश्वास गरिन्छ। यसै कारणले सुरुमा शेर्पाहरूले विदेशीलाई विश्वका अग्ला हिमाल चढ्न सघाउने भूमिका निर्वाह गरे। उनीहरूले आफ्नो ज्यान जोखिममा राखेर अरूलाई नायक बनाए।

पछिल्लो समय भने त्यसको खतरालाई आकलन गर्दै उनीहरू हिमालबाट पलायन हुँदै न्युयोर्कसम्म पुगेका छन्। उनीहरूमध्ये कोही हिमाल चढ्न आवश्यक औजर बेच्छन्। कोही भने ट्याक्सी चालक बनेका छन्।

हिमालको चिसो खपेका सेरप शेर्पाका लागि न्युयोर्कको गर्मी पचाउन गाह्रो हुने गरेको छ। यस्तोमा उनले युएस–नेपाल आरोही संघ बनाएका छन्। यसमा ७० देखि ८० जनासम्म सदस्य छन्। तिनको उमेर ३० देखि ५५ वर्षसम्म छ। उनीहरू क्विन्स क्षेत्रमा बसोबास गर्छन्। यी सदस्यहरूले आरोहणका क्रममा ज्यान गुमाउने शेर्पाका सन्तानहरूको पढाइलेखाइका लागि नेपालमा सहयोग गर्ने गरेका छन्।

यसो चिहाएर हेर्ने हो भने आरोहीहरूको सानोतिनो झुण्ड जहाँ पनि देख्न पाइन्छ। संघका अध्यक्ष पासाङ शेर्पा इन्डोर क्लाइम्बिङ जिममा काम गर्छन्। उनको उपस्थितिका कारण जिमको सदस्यता ह्वात्तै बढेको उनको दाबी छ। उनले दिने सुझावका कारण कुनै दिन सगरमाथा चुम्ने रहर पाल्नेहरूको पनि त्यहाँ कमी छैन।

शेर्पा भन्नेबित्तिकै धेरैले सगरमाथाका बारेमा सोध्ने हुनाले र कति पटक शिखर पुग्यौ भनेर सोध्ने भएकाले धेरैजसो शेर्पाहरूलाई उत्तर दिन गाह्रो हुन्छ किनभने नेपाल नफर्किएकै धेरै समय बितिसकेको छ। यस्तोमा उनीहरूको सपना भने मरेको छैन तर न्युयोर्कजस्तो व्यस्त शहरमा जुन जीवनशैली छ, त्यसले सगरमाथा चुम्न निकै गाह्रो हुन्छ। लामो समयसम्म ट्याक्सी चलाएको व्यक्तिले सगरमाथा चढ्नु लगभग असम्भव नै हुन्छ।

सगरमाथा चढ्न लालायित सेरप भन्छन्, ‘पक्कै पनि लोभ छ तर मेरो वजन निकै बढेको छ।’ सेरपको वजन बढेकामा उनकी पत्नी युटी शेर्पालाई पनि चिन्ता छ भन्छिन्, ‘यत्तिको लामो समयपछि र यो उमेरमा उनी सगरमाथा चढ्न गए भने मेरो मन त अत्तालिहाल्छ नि !’ त्यो सपना भने उनीहरू दुवैले मर्न दिएका छैनन्। न्युयोर्क शहरभन्दा १६० किमि उत्तर रहेको हड्सन उपत्यकाको सावाङ्क रिजमा अभ्यास गर्न पुग्छन् । त्यहाँ पुग्दाको आनन्द उनीहरू कहिलेकाहीँ सगरमाथा पुगे झैं महसुस गर्छन्।

दुई पटक सगरमाथा टेकेका ४७ वर्षे ल्हाक्पा शेर्पा भन्छन्, ‘अरूलाई महिनौँ लाग्ने सगरमाथा आरोहण हाम्रा लागि बढीमा तीन साताको काम हो। जब यहाँ हामी अभ्यासका लागि आउँछौँ र समुद्र सतहभन्दा दुई हजार फिटको उचाइमा पुग्छौँ, कहिलेकाहीँ सगरमाथा नै पुगेको अनुभूति गर्छौं।’

प्रकाशित: १३ जेष्ठ २०८१ ०७:०८ आइतबार

#Nepali Sherpas in New York #Thick Attendance #Everest Arohi #Tenzing Norge Sherpa Street