समाज

रौतहटमा रासायनिक मलको अभाव

अहिले किसानहरूले धमाधम धानको बिउ राखिरहेका छन्। धानको बिउ राख्ने समयमै रासायनिक मलको अभाव भएको छ। त्यसो त किसानहरूले अहिले रासायनिक मलबिना नै धानको बिउ राखिरहेका छन्।

रौतहटको माधव नारायण नगरपालिका माइधिया मानपुरका किसान हाकिम मुखियाले बिना मल बिउ राख्नुपर्दा निकै दुःख लागेको बताए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पनि उखु बालीमा सिँचाइ गरी मल हाल्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसानहरूलाई गाह्रो भएको बताए।  धान खेती गर्ने किसानको लागि पनि मलको अभाव रहेको बताउँदै मैनालीले मलको अभावमा चिन्तित किसानलाई सरकारले ध्यान दिनुपर्ने बताउँछन्।

नेपाल सरकारले दिने गरेको अनुदानको डिएपि दुई हजार चार सय रुपैयाँमा किसानले पाउने गरेका छन्। तर सोही मललाई बढी पैसा तिर्दासम्म पाउन गाह्रो भएको किसानहरू बताउँछन्।

किसानको माग अनुसार सर्लाहीमा मल आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख ध्रुवप्रसाद साहले बताएका छन्। सर्लाहीमा पन्ध्र हजार मेटिक टन युरियाको माग रहेकोमा सरकारले छ हजार मेटिक टन मात्र पठाउने गरेको उनले बताए।

किसानहरूको माग अनुसार सर्लाहीको लागि रासायनिक मलको कोटा बढाउन लिखित पत्राचार समेत गरिसकेको भए पनि मन्त्रालयले नसुनेको साह बताउँछन्। 

प्रकाशित: ११ जेष्ठ २०८१ १८:०८ शुक्रबार

रासायनिक मल