समाज

बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह

होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन्। संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताएका हुन्। 

अध्यक्ष साहले सरकारले पर्यटन प्रवर्द्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताएका हुन्। उनले लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताए। अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेपनि सञ्चालनमा आउन नसकेको र सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवर्द्धनकारी नीतिको अपेक्षा गरेको उनको भनाइ छ।

उनले भने,‘अहिलेको अवस्था चुनौतीपूर्ण छ। ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगेका छौं। तर मुलुकमा १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेका छन्। क्षमताको एक तिहाई मात्रै सञ्चालनमा होटलहरु रहेकाले क्षमता कसरी बढाउने काम गर्नुपर्छ। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेका छन्। सञ्चालनमा आउन सकेका छैनन्। पर्यटन व्यवसायीहरुले बजेटमा धेरै अपेक्षा गरेका छौं। सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्छ। पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन सकेको छैन बैंकको किस्ता ब्याज बुझाउन सकेका छैनौ। त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ।’

उनले सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिए। यस्तै, पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको सुनाए। बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई  सरकारले सहजिकरण गर्नुपर्ने उनले सुझाव दिए।  

‘चालु आर्थिक वर्षमा होटलहरुमा लक्जरी कर लागएको छ। त्यसले विश्वभर राम्रो सन्देश गएको छैन । त्यसले अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी हुन सकेको छैन। पर्यटन क्षेत्रमा करको दायरा बढाए पनि नयाँ करहरु थप हुनु भएन। बजेटले पर्यटक दशक भनेर घोषणा गरेको छ। दशकका कुरा कृषि,रोजगारी र आइटीमा समेत छ। पर्यटक दशक घोषणा भएपनि केही काम हुन सकेको छैन। विगतको भन्दा यो वर्ष फरक बजेट आउँछ भन्ने अपेक्षा हो’,उनले भने।

प्रकाशित: ११ जेष्ठ २०८१ १२:२७ शुक्रबार

#Hotel Association Nepal #Chairman Vinayak Sah