समाज

सिरोहियाको पक्राउले लगानीकर्ताको मनोबल अझै घट्यो-निजी क्षेत्र

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले उद्यमी व्यवसायीको मनोबल थप घटेको निजी क्षेत्रले जनाएको छ।

सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने र उद्यमी व्यवसायीको मनोबलसमेत थप घटेको निजी क्षेत्रको निष्कर्ष छ।

‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं। कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ गरेर थुनिहाल्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने र उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्नेमा उल्टै थुनिहाल्ने प्रवृत्तिले समग्र उद्यमी व्यवसायीमा त्रास उत्पन्न हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०९:४३ शुक्रबार

Arrest of Sirohia The morale of the enterprising businessman