समाज

‘बुद्ध र कमल’ चित्रकला प्रदर्शनी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी सुरु भएको छ। 

बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय १३ जना कलाकारका १३ वटा तस्वीर राखिएका छन्।

अहिंसा र सत्यको बाटोमा लाग्नुपर्छ भन्ने सन्देश दिने तस्वीर प्रदर्शनीमा राखिएका गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले बताए। 

संस्कृति र कलाको उत्थान नभएसम्म राष्ट्रको उन्नति हुन नसक्ने भन्दै उनले प्राचीन कलाले नेपाललाई चिनाएको बताए। 

उनले काठमाडौँमा हुने कला सिर्जना र काठमाडौँ बाहिर हुने कला सिर्जनाको गुणस्तरमा भिन्नता नभए पनि काठमाडौँ बाहिर रहेका कलाकार र चित्रकला प्रदर्शनीबारे आमसञ्चारका माध्यमले कम महत्व दिने गरेका गुनासो गरे।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव कलाकार भीम शर्माले संस्कृति, कला र प्राकृतिक सम्पदाबाट ठाउँ चिनाउन सकिने बताए। 

‘हामीले कोरेका चित्र हेर्ने मान्छे कम हुँदा तथा चित्रबारे प्रतिक्रिया नआउँदा हामीमा उत्साह थपिँदैन’, उनले भने, ‘प्रदर्शनीमा राखिएका चित्र बिक्री पनि हुँदैनन् र कलाकारको ऊर्जा घट्छ।’

मोफसलमा कलाका पारखीको कमी रहेको कलाकार बताउँछन्। प्रदर्शनीको सन्दर्भमा आयोजित कला संवादका क्रममा साहित्यकार एवं समीक्षक उदय अधिकारीले साहित्यकार सरिता तिवारी, कलाकार प्रकाश थापा र पत्रकार रमेशकुमार पौडेलसँग कलासम्बन्धी विविध विषयमा संवाद गरेका थिए। 

संवादका क्रममा पत्रकार रमेशकुमार पौडेलले मोफसलमा हुने कलासम्बन्धी कार्यक्रमबारे पत्रकारलाई कम जानकारी हुने हुँदा सञ्चारमाध्यमबाट प्रचारप्रसार कम हुने गरेको बताए।

संवादकै क्रममा साहित्यकार सरिता तिवारीले कला महँगो हुँदा सबैको पहुँचमा पुग्न नसकेको बताए। 

स्थानीय सरकारको कलाकारलाई प्रवर्द्धन गर्ने कार्यक्रम नहुनु, कलाकारले समुदायसँग सहकार्य नगर्नाले चित्रकलाप्रति मान्छेको रुचि नबढेको उनको भनाइ छ।

प्रदर्शनीमा राखिएका चित्रमा गौतमबुद्ध र कमलको सम्बन्धलाई देखाइएको छ। प्रदर्शनीमा कलाकार गोविन्दराज विनोदी, दामोदर (डी) बराल, प्रकाश थापा, बरुणबाबु घिमिरे, आकृति घिमिरे, भीम शर्मा, प्रमेश कँडेल, गोपाल तामाङ, सन्तोष श्रेष्ठ, नारायण सापकोटा, रामहरि श्रेष्ठ, सुलभ पौडेल र सुशील गुरुङका चित्र छन्। आगामी १० दिनसम्म जारी रहने प्रदर्शनीका तस्वीर खरिद गर्न सकिनेछ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा ‘हामी कलाकार’ नामको संस्थाको पनि साझेदारी छ।-रासस

प्रकाशित: ११ जेष्ठ २०८१ ०९:३९ शुक्रबार

#nawalparasi #Buddha and Lotus #Painting exhibition