समाज

पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने

पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने भएको छ। गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जेठ ११ र १२ गते नागरिक सम्मेलन हुने आयोजकले बताएको छ।

सम्मेलनमा गण्डकी प्रदेशका सबै जिल्लाबाट ५÷५ जनाको प्रतिनिधित्व रहने र बाँकी कास्कीको पोखराका समेत गरेर २ सय जनाको सहभागिता रहने गैर सरकारी सस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले जानकारी दिए। दुई दिनसम्म चल्ने सम्मेलनमा १४ सेसन चल्ने अध्यक्ष खड्काले जानकारी दिए। नागरिकका सरोकारसँग सम्बन्धित १४ वटा फरक/फरक विषयमा प्यानल छलफल हुने उनको भनाई छ।

गैसस महासंघ गण्डकीका अनुसार सम्मेलनमा पहिलो सेसन ‘गण्डकी प्रदेशमा गैससहरुको सवाल, समस्या र चुनौति’ विषयक छलफल हुनेछ । त्यसपछि क्रमशः ‘नेपालमा नागरिकको अधिकारको अवस्था, भूमिका र सहभागिता’ विषयक प्रस्तुतीकरण पनि रहनेछ। ‘गण्डकीमा मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिका’ लगायतबारे पनि छलफल हुनेछ ।  

त्यस्तै, सम्मेलनमा ‘गण्डकी प्रदेशमा महिलाको अवस्था, सवाल, समस्या, चुनौति, अवसर र समाधान तथा व्यवस्थापन पक्षको लागि सरोकारवालहरुको भूमिका’, गण्डकीमा विपद जोखीमको अवस्था, पूर्वतयारी, न्युनीकरण, जलवायु परिवर्तन र यस्को प्रभाव, अनुकूलन स्थानियकरण तथा नागरिक संस्थाहरुको भुमिका विषयक प्रस्तुतीकरणसँगै छलफल र अन्तरक्रिया पनि हुनेछ।

सम्मेलनले विकासका सवालहरुमा साझा धारणा बनाउँदै गण्डकी प्रदेश नागरिक घोषणापत्र २०८१ जारी गर्ने अध्यक्ष खड्काले जानकारी दिए। ‘उक्त घोषणा पत्र नितिगत सुधारको पहलका लागि प्रदेश मन्त्रालयहरु तथा संघीय सरकारमा पेश गरि आग्रह र ध्यानाकर्षण गर्छौं,’उनले भने ।

प्रकाशित: ९ जेष्ठ २०८१ १७:१५ बुधबार

पोखरा प्रदेशस्तरीय नागरिक सम्मेलन