समाज

चिट्ठाको नाममा ठगी गर्ने ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ठगी मुद्दाका आरोपीहरुलाई शुक्रबार सार्वजनिक गर्दै। तस्बिर : नागरिक

वीरगन्ज – अनलाईन प्रविधिमार्फत संचारको साधनको रुपमा पछिल्लो समय चलनमा आएका माध्यमहरू ‘ह्वाट्स एप’,‘भाइबर’, ‘फेसबुक’ र ‘आइएमओ’बाट चिट्ठा पर्यो भन्ने प्रलोभनमा पारी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज क्षेत्रमा यस्तो ठगीमा सक्रिय रहेका भारत बिहारको रामगढवा, अधकपरिया बस्ने २२ वर्षिय नौसाद आलम, सोही ठाउँ घर भई पर्साको परवानीपुर बस्दै आएका २५ वर्षिय अशोक यादव र पर्सा सिसियाडी घर भएका २१ वर्षिय राजकुमार यादवलाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

यी ३ जना पक्राउ परेसँगै यस्तै प्रकृतिको मुद्दामा पर्सा जिल्लामा पक्राउ पर्नेहरूको संख्या २० पुगेको छ। यसमा अघिल्ला वर्षको घट्ना र संख्या सामेल छैन्। ‘तपाइलाई ५० लाख वा २५ लाख रुपैयाँको चिट्ठा पर्यो, तपाइको नम्बरलाई लटरीमा सामेल गरी ‘ह्वाट्स एप’, ‘भाइबर’, ‘फेसबुक’ र ‘आइएमओ’ कम्पनीले छानेकोमा तपाइलाई बधाई छ भन्दै यिनीहरूले भुक्याउछन्,’ पर्साका प्रहरी उपरीक्ष गणेश रेग्मीले भने, ‘यस्ता ठगहरूले पछि लटरीको रकममा लाग्ने ट्याक्सको रकम पहिले नै जम्मा गर्नु भनेर कुनै एकाउन्टमा पैसा जम्मा गर्न लगाएर ठगी गर्छन्।’

पक्राउ परेकाहरूको साथबाट १ लाख ४७ हजार ८ सय रुपैयाँ, भारतीय तथा नेपाली नम्बरका सिम सहित मोबाइल ३ थान, बिभिन्न बैकका भौचर तथा कागजात, बिभिन्न बैंकको एटिएम, बिभिन्न ब्यक्तिका दर्जन बढी पासपोर्ट साइज फोटो लगायत समान प्रहरीले बरामद गरेको छ।

संगठित संजाल
यसरी मानिसहरूलाई प्रलोभनमा पारी ठगी गर्नेहरूले संगठित तवरमा र गिरोह बनाएर काम गर्ने गरेको खुलेको छ। शुक्रबार प्रहरीले सार्वजनिक गरेको गिरोहको मुख्य नाइके भारतको राजधानी दिल्ली बसेर उनीहरुलाई परिचालन गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीका अनुसार भारतको दिल्लीमा बस्ने व्यक्ति नेहाल अन्सारी हुन जसलाई समूहका मानिसहरुले बिभिन्न व्यक्तिहरूबाट ठगेको पैसा लगेर बुझाउने गरेका छन्।

शुक्रबार सार्वजनिक भएको गिरोहका नौसाद पृष्ठभुमीले सब इन्जिनियर हुन्। यसरी ठगीएको बिभिन्न व्यक्तिहरूको ‘एटिएम’ भएको बैंक खाता प्रयोग गर्ने गरेका छन्। एटिएम र खाता प्रयोग गरेबापत १ पटकमा पाँच सयदेखी हजार रुपैयाँ समूहले सम्बन्धीत व्यक्तिलाई दिने गरेको छ। अहिलेसम्म आएका घट्नाहरुमा नेपाल र भारत दुई तिरकौ व्यक्तिहरूको संलग्नता देखिएको छ।

यो संगठीतसँगै सिमा वार–पार अपराधको रुपमा पनि देखिएको प्रहरी विश्लेषण छ। हालसम्म यस्तो मुद्दामा पक्राउ पर्नेहरूमा ९ जना भारतीय र ११ जना नेपाली रहेको देखिन्छ। ‘कुनै कम्पनीले सितैमा २५ वा ५० लाख रुपैयाँ किन दिन्छ बिचार गर्नुपर्ने हो, यस्तो लोभमा नपर्न सर्वसाधारण सजग हुनुपर्छ,’ रेग्मीले भने, ‘सर्वसाधारणसँग अनुरोध छ, कसैले तपाइलाई त्यस्तो प्रलोभन दिन खोजेको छ भने प्रहरीलाई खबर गर्नुस्।’

प्रकाशित: ९ चैत्र २०७४ १०:४० शुक्रबार