समाज

जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्। 

यार्सा टिप्ने समय सुरु भएपछि जुम्ला, डोल्पा,कालिकोट, जाजरकोट, रुकुम र मुगु लगायतका जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ।

ऋमोक्ष माध्यमिक डिल्लीचौरका १ सय २१,गंगा माध्यमिक पेरेका २ सय ६० ,गंगादेवि आधारभूत स्यालागडिगाउँका १५,आधारभूत विद्यालय हुरीमहरीका ६ जना,आधारभूत विद्यालय लुमका ३०, मालिका मावि लोठचौरका ७० र सरस्वती माध्यमिक विद्यालय तल्फिका ८० जना गरी कुल ५ सय ८२ जना छात्राछात्रहरु पढ्ने जोहो गर्न पाटन पुगेका छन्।

गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गंगा माध्यमिक विद्यालय पेरे प्रध्यानाध्यापक गोर्ख बुढा बताउँछन्। 

जुम्ला,कालिकोट डोल्पा, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गर्छन्।यार्सा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ।

विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी कीरा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको निम्ति पाटन लैजाने चलन छ।

सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ। आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन्।

कम्तीमा पनि दुई महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको सोही गाउँपालिका ४ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रध्यानाध्यापक हरिबहादुर बुढाले बताए। यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक लाख देखि दुई लाख बढी रुपैयाँ कमाउँछन्।

त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्त्व दिने गरेको पाइन्छ। आधारभूत तहसम्म भने नियमित पढाइ भइरहेको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थी धेरै गएका छन्,भने ४,५ र ६ कक्षा सम्म कमै पाटन निस्केका छन्।

‘यार्साको कमाएको पैसाले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ,खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई च्याउ टिप्न नपठाई हुँदैन,’पातारासी गाउँपालिका-३ चौर गाउँकी काली रावतले भनिन्।

माथिल्लो तहका विद्यार्थी  नआउँदा कतिपय विद्यालयका पढाइ हुदैन,शिक्षक हाजिर गरेर फर्किने गरेका छन्। यार्साको सिजनमा बर्षेनी डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको मालिका माध्यमिक विद्यालय मावि शिक्षक प्रेमबहादुर हमालले बताए।

पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पुरा गर्न सकस पर्ने गरेको उनी बताउँछन्। ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्नुपर्छ’ शिक्षक हमालले भने।

यार्साको आम्दानीले वर्षभरिको खर्च जुटाउनु पर्ने भएकोले आफ्ना छोराछोरीलाई जोखिम मोलेर मुगु र डोल्पाका पाटन लान बाध्य भएको अभिभावकले बताउँछन्।आफूहरूको यस्तो बाध्यतालाई अन्त्य गरी छोराछोरीलाई नियमित विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्ने उनीहरूको भनाइ छ।

गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउँहरू सुनसान छन्। गाउँमा अहिले अधिकांश वृद्धवृद्धा र बालबालिका मात्रै छन्। कसैको मृत्यु भए अहिले गाउँमा मलामी जाने मान्छे समेत नभएको सरस्वती माध्यमिक विद्यालय तल्फीका प्रध्यानाध्यापक विष्णुचन्द्र डाँगीले बताए।  

१, २,३ र ४ ५ वडा भित्र सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढ्ने अधिकतम विद्यार्थी पाटन पुगिसकेको पातारासी गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्याय बताउँछन्। 

गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको जानकारी दिए।

विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको छ। पातारासी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा निमावि र मावि ६/६ वटा तथा प्रावि चारवटा छन्। यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी पाटन पुग्छन्।

प्रकाशित: ७ जेष्ठ २०८१ १४:०४ सोमबार