समाज

इच्छाकामनामा खानेपानीले ल्याएको खुसी

शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो। यो अवधिमा उनले खानेपानी बोक्नका लागि नै दैनिक दुई घण्टाभन्दा बढी समय छुट्ट्याउनु पर्दथ्यो। तर, हिजोआज भने दैलोमा खानेपानी आएपछि भने उनीमा खुसीको सीमा छैन।

‘स्याङ्दीबाट विवाह भएर यहाँ आएको ३५ वर्ष भइसक्यो। सोमभरी खोलामा पुगेर पानी ल्याउँदा आधा घण्टा लाग्थ्यो’, विगतका दिन सम्झँदै गुरुङले भनिन् ‘दिनमा तीन चार खेप बोक्नुपर्दा केही नभए पनि दुई तीन घण्टा त पानी ओसार्न मै समय बिदथ्यो।’ उनले बस्तुभाउलाई पानी बोकेर नै दिने गरेकी थिइन्। बर्खामा बाढी आउँदा खानेपानी समेत खान नपाएको अनुभव उनीसँग प्रशस्त छन्। ‘कुवाको खानेपानी लिन जान खोला तरेर जानु पर्दग्थ्यो। बाढी आउँदा तर्न सकिँदैन। बलेनीको पानी थापेर खानुपर्दथ्यो, उनले भनिन्, उकालोमा पानी बोक्न साह्रै कठिन हुन्थ्यो।’

यो समस्या सिमलढापकी ६९ वर्षिया मोतिमाया मगरको पनि थियो।  पानीको खोजीमा २ घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै उनीमा खुबी छाएको छ। जीवनको उत्तरार्द्धसम्म समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएकोमा उनी निकै खुसी छिन्। ‘राति नै उठेर मकै पिस्न पर्दथ्यो। अनि पानी भोर्न आधा घण्टा लगाएर जानु पर्दथ्यो। त्यसपछि घाँस काट्न जानु पर्दथ्यो। अचेल त रानी जस्तो भएका छौँ क्यारे। घर घरमा धारा आएको छ,’ उनले भनिन्।

खानेपानीको सधैँ हाहाकार, मध्य वर्षातमा पनि अभाव हुन्थ्यो। सिङ्गो गाउँ नै एउटै मुहानमा जाँदा खानेपानी भर्नेको लाइन उस्तै हुन्थ्यो। एक ग्रागी पानीको लागि रातभर नसुतीकन बस्नुपर्ने अवस्था स्थानीय महिलाका लागि कम कष्टकर थिएन। ‘यहाँका स्थानीय महिलाहरूले बषौँदेखि आधा घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे। अहिले एक घर, एक धारा निर्माण भएपछि समस्याबाट मुक्ति पाइएको छ,’ खेतबारीकी चिज गुरुङले भनिन्, अहिले घरमै पानी भएपछि शौचालय, बस्तुभाउ र करेसाबारीलाई समेत राम्रो भएको छ।’ बचत भएका समय खेतीपातीमा लगाउने उनले बताइन्।

पानी नहुँदा मान्छे, बस्तुभाउ पाल्ने लगायतका दैनिक कामहरूमा असहजता उत्पन्न भएको सोही ठाउँकी सुमित्रा चेपाङले बताइन्। इच्छाकामना गाउँपालिकाले वाटर टु वाटरको सहयोगमा करिब चार किलोमिटर टाढाबाट पानी पु¥याएपछि खेतबारी र सिमलढापका ७१ घरधुरी लाभान्वित भएका छन्। वाइन टु वाटर नेपालको ६५ प्रतिशत, गाउँपालिकाको २५ र उपभोक्ताको १० प्रतिशतको लागतमा धारा जडान गरिएको हो। यस परियोजना सम्पन्न गर्न ७१ लाख रुपैयाँ लागेको वाइन टु वाटर नेपालका निर्देशक रोशनी कार्कीले जानकारी दिइन्। यस परियोजना मार्फत इच्छाकामनामा १७ वटा कार्यक्रम सञ्चालित छन्। त्यसमध्ये १५ वटा परियोजना सम्पन्न भएको उनले बताइन्। 

पालिकाले एक घर एक धारा सहित घरघरमा धारा जोड्ने अभियान सञ्चालन गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। ‘हाम्रो नीतिमै एक घर एक धारा जोड्ने छ। हामीले ७५ प्रतिशत घरधुरीमा धारा जडान गरिसकेका छौँ, अध्यक्ष गुरुङले भने‘एक दुई बर्षभित्र सबै घरघरमा धारा जडान गरिसक्छौँ।’ इच्छाकामना गाउँपालिकामा छ हजार पाँच सय घरधुरी छन्। खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए। यहाँ रहेका २० घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ। गाउँपालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले आफ्नो नीतिअनुसार गाउँपालिकाले खानेपानीमा काम गरिरहेको बताए। गाउँपालिकाका सबै वडामा खानेपानीका परियोजनाका काम तीव्र रुपमा सञ्चालन भइरहेको उनको भनाई छ। 

प्रकाशित: ६ जेष्ठ २०८१ १६:५२ आइतबार

#drinking water