समाज

रुसी सेनाबाट नेपालीलाई फर्काउन रुस सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ

मित्रकुञ्जको स्मारिकाको विमोचन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित अन्य। तस्बिर: नागरिक

रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ताका लागि पहल भइरहेको र यसमा रुस सरकार सकारात्मक रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। मित्रकुन्जले आयोजना गरेको एक कार्यक्रममा शुक्रबार बोल्दै उनले त्यसो भनेका हुन्।

जारी रुस युक्रेन युद्धको क्रममा रुसी सेनामा भर्ती भएका कतिपयले ज्यान गुमाएको, घाइते भएको र विभिन्न खाले दुःख पाएको चर्चा गर्दै उनले यो विषयलाई रुसी सरकार र नेपालस्थित रुसी राजदूतावासको ध्यानाकर्षण गराइएको उनले बताए। उनले रुस र युक्रेनबीच रहेको विद्यमान द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा नेपाल रहेको बताए।

पूर्वसोभियत संघ र वर्तमान रुसी फेडेरेसनसँग नेपालको सम्बन्ध अत्यन्त राम्रो रहेको चर्चा गर्दै दुई देशको सम्बन्ध कुनै राजनीतिक विचारधाराको आधारमा नभई दुई देशका जनताबीच परस्पर सम्बन्ध अत्यन्त सुमधुर रहेको उनले बताए।

विगतमा हजारौं नेपालीले रुसमा अध्ययन गरेर नेपालको विकासमा योगदान दिएको चर्चा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले रुसमा पढेर फर्केकाले स्थापाना गरको संस्था मित्रकुन्ज आफैंमा एक स्थापित नाम भएको बताए।

‘यो संस्थाले प्राज्ञिक छलफल मात्र चलाएको छैन, जनस्तर र द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने। मित्रकुन्जको ५७औं वार्षिकोत्सक, छैटौँ एसियाली क्षेत्रको बैठक एवं विज्ञान, प्रविधि तथा सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रुस, मंगोलिया, वेनिन, बंगलादेश, श्रीलंका, पाकिस्तान, भारतलगायत देशबाट प्रतिनिधि सहभागी रहेका छन्।

उक्त कार्यक्रममा बोल्दै मित्रकुन्जका संस्थापक अध्यक्ष निलाम्बर आचार्यले देशका विभिन्न भागमा क्षेत्रीय च्याप्टरसमेत रहेका मित्रकुन्जले गरेको कार्यको सबैले प्रशंसा गरेको बताए।

नेपालका लागि रुसी फेडेरेसनका राजदूत अलेक्सेई नोभिकोभले मित्रकुन्जले दुई देशबिचको सांस्कृतिक आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान गरेको बताउँदै यसलाई भविष्यमा पनि निरन्तरता दिन आवश्यक रहेको बताए।

मित्रकुन्जका अध्यक्ष महेशप्रसाद पाण्डेले स्थापनाको ५७औं वर्षको अवसरमा एसियाली क्षेत्रको बैठक तथा विज्ञान, प्रविधि एवं सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए।

रुसमा अध्ययन गरेका विभिन्न देशका विज्ञहरूले उक्त तीन दिने सम्मेलनको दौरानमा चिकित्सा क्षेत्र, इन्जिनियङि तथा सुशासनलगायत विषयमा २४ वटा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमा छलफलसमेत हुने उनले बताए।

रुसमा अध्ययन गरेका ७ हजारभन्दा बढी नेपाली मित्रकुन्जसँग आबद्ध रहेका छन् भने यो संस्थाले विज्ञान, प्रविधि, ज्ञान व्यवस्थापन, कला तथा संस्कृतिको प्रवर्धनमा काम गर्दै आएको छ।

सम्मेलनको उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले मित्रकुन्जले प्रकाशन गरेको स्मारिकाको विमोचन गरेका थिए भने रसियन सोसाइटी फर को–अपरेसन एन्ड फ्रेन्डसिपका तर्फबाट दुई देशको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।  

प्रकाशित: ५ जेष्ठ २०८१ ०८:३३ शनिबार

Deputy Prime Minister and Foreign Minister Narayankaji Shrestha Release of Mitrakunj souvenirs