समाज

बजेटबारे टोल–टोलमा पुगेर सुझाव माग्दै मैवाखोला

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्रस्तुत हुने नीति,कार्यक्रम तथा बजेट बारे पालिकाका टोल–टोलमा पुगेर सुझाव संकलन गर्न थालेको छ। पालिका अध्यक्ष बिजय प्रकाश वनेमले आगामी आव २०८१/८२ का लागि समुदाय स्तरबाटै सुझाव संकलन थालिएको जानकारी दिए।

‘नीति,कार्यक्रम र बजेटमा समुदायकै अपनत्व जागृत गर्न समुदायका सदस्यको सुझाव लिन थालेका हौं’वनेमले भने। उनले उपयुक्त राय सुझाव दिएर पालिकाको नीति,कार्यक्रम र बजेट प्रभावकारी बनाउने कुरामा योगदान दिन पालिका क्षेत्र भित्रका आम नागरिकहरुलाई आवह्वान समेत गरेका छन्। सुझाव संकलनका लागि पालिकाका ६ वटै वडा कार्यालयहरुले समन्वय गरिरहेका छन्।

प्रत्येक वडाका टोलबस्ति तहमै पुगेर समुदायका सदस्यको सुझाव संकलन गरी सोहि अनुसार आगामी आवको नीति,कार्यक्रम र बजेट तयार पार्ने योजनामा पालिका रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताइन्।

यसअघि यहाँको सिरिजङ्गा गाउँपालिकाले पनि १५ दिनको समय दिएर बजेटमा स्थानीय समुदायको सुझाव माग गरेको थियो।

संबैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते भित्रमा आगामी आवका लागि नीति,कार्यक्रम र बजेट पेश गरिसक्नु पर्छ। सामान्यतया नीति तथा कार्यक्रम स्थानीय तहका प्रमुख वा अध्यक्षले र बजेट उपप्रमुख वा उपाध्यक्षले पेश गर्ने गरेका छन्। 

प्रकाशित: ४ जेष्ठ २०८१ १३:१९ शुक्रबार

#Taplejung #Maivakhola rural municipality