समाज

दाताको सहयोगबाटै चल्छ देवघाटको वृद्धाश्रम

तनहुँको देवघाट गाउँपालिका-५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन्। विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन्।

केन्द्र दानवीरकै सहयोगमा निर्भर हुँदै आएको छ। सरकारद्वारा २०५२ सालमा स्थापित देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित उक्त केन्द्रमा सरकारले पर्याप्त बजेटको प्रबन्ध नगर्दा दाताहरूकै सहयोगमा निर्भर हुनुपरेको हो।

सन्तान नभएका आश्रयहीन बुबाआमा आश्रममा रहेको आश्रमका व्यवस्थापक देवु अधिकारीले जानकारी दिए। उनले भने, ‘बजेटको समस्याका कारण आश्रम दाताको सहयोगले चलिरहेको छ, विभिन्न अवसरमा दाताहरूले सहयोग गर्दै आएका छन्।’

आश्रममा एउटै कोठामा आठदेखि नौजना राख्नुपर्ने बाध्यता रहेको उनले बताए। उनले भने, ‘गर्मी महिनामा कुनै बुबाआमालाई पङ्खा नभई नहुने, कसैलाई पङ्खा चाहिँदै नचाहिने जस्ता समस्याले वृद्धवृद्धालाई एउटै कोठामा राख्दा समस्या छ।’

वृद्धाश्रममा पर्याप्त कोठाको अभाव हुँदा स्वस्थ्य र बिरामीलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ। महिला र पुरुषहरूका लागि छुट्टाछुट्टै शौचालय नहुँदा वृद्धवृद्धाको नित्यकर्ममा समेत समस्या आउने गरेको अधिकारीको भनाइ छ।

वृद्धाश्रममा पर्याप्त आवास, शौचालय, मनोरञ्जनस्थल, स्नान कक्ष, सुविधाजनक भान्सा, विश्रामकक्षको उचित प्रबन्ध गर्न राज्यले ध्यान दिनुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए।

प्रकाशित: ३० वैशाख २०८१ ०९:४९ आइतबार

Devghat's old age home runs with the help of donors senior citizen