समाज

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिमा कार्यक्रम

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। मानिसलाई रोग लाग्नुअघि नै निधानात्मक उपायका लागि थापा स्वास्थ्यमन्त्री हुँदा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा ल्याएका थिए।

काठमाडौं महानगरपालिका–३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्यमन्त्री हुँदा सुरु भएको बिमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको छ। थापाले सहरी स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रमको औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।

रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने कांग्रेस महामन्त्रीसमेत रहेका थापाले बताए। ‘ठुलो रोग लागे गरिबीमा फस्ने अवस्था छ,’ थापाले भने, ‘स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गर्नुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो।’

स्थानीय सरकारले प्राथमिक स्वास्थ्यमा ध्यान दिनुपर्ने थापाले बताए। ‘सबैलाई अस्पताल चाहिएको छ,’ उनले भने, ‘त्योभन्दा नागरिकको स्वास्थ्य जीवन शैलीमा ध्यान दिनुपर्छ।’

 केन्द्रले वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगहरू लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधीको व्यवस्था गर्ने उद्देश्यले स्वास्थ्य बिमा स्थापना भएको हो। वार्षिकोत्सवमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।

प्रकाशित: ३० वैशाख २०८१ ०९:३४ आइतबार

Insurance Program at the Urban Health Promotion Center Nepali Congress General Minister and former Health Minister Gagan Kumar Thapa