समाज

खुवा खेती

सम्भावना

‘कृषिप्रधान भनिने देशमा समाजका अगुवाले असार १५ मा धानको माला लगाउने कुरा कत्ति पनि चित्त बुझेको छैन। अब नयाँ पुस्ताले दुबोको माला भनेर धानका बेर्ना बेर्न बेर छैन। धान र दुबो नै नचिन्ने पुस्ता बनाउने देशले कृषिबाट कसरी उन्नति गर्ला?’

अचेल धेरैको मनमा आफ्नै गाउँठाउँमा रोजगारी गर्नेभन्दा पनि वैदेशिक रोजगारीलाई विकल्पका रूपमा लिने गरेको पाइन्छ। गाउँसहरका युवालाई वैदेशिक रोजगारीले तानिरहेको यो बेलामा पनि दक्षिण ललितपुरस्थित महांकाल गाउँपालिका–३ गोटीखेलका सोनाम गोले भने स्वदेशी वातावरणमै रमिरहेका छन्।

रमणीय गोटीखेल घुम्न आउनेहरूले फर्कंदा लैजाने कोसेली हो– खुवा। हरियोपरियो खाएका स्थानीय गाईभैंसीको दुध घोटेर बनाइएको खुवा खाएपछि पटक पटक त्यसले तान्ने नै भयो। गोटीखेल र आसपासमा रहेका धार्मिकस्थलमा घुमघाम र दर्शनका निम्ति आउने स्थानीय बासिन्दालाई लक्षित गरेर स्थानीय बासिन्दाले वर्षौंदेखि खुवा घोट्न थालेका हुन्।

गोटीखेल घुम्न आउनेलाई सोनाम खुवा चखाउँछन्। त्यहाँ बनाएको खुवा खानेले उनीकहाँ फेरि जानुपर्ने ठान्छन्। खुवा व्यवसायले उनी मात्र होइन, पत्नी लक्ष्मीकुमारी मगरलाई पनि सक्रिय तुल्याएको छ। दुवै पतिपत्नीले बिहानैदेखि खुवा बनाएर दिनभरि बेच्छन् । दम्पती साथ भएर गरेको कामले सम्पत्ति पनि जोड्ने नै भयो। एकातिर सँगै बस्न पाइयो, अर्कातिर दैनिक आम्दानी बढाउन सकियो।

धार्मिक सांस्कृतिक एवं पर्यटकीय हिसाबले गोटीखेल चर्चित छ। यहाँ वैतरणी धाम, महांकाल मन्दिर, कालेश्वर मन्दिर र सिम्बा झरनाले आन्तरिक पर्यटकलाई लोभ्याउँछ। वास्तवमा यी ठाउँ घुम्न जानेले चाख्न पाउने परिकार नै खुवा हो। सोनाम र परिवारले दर्शनार्थीको त्यो आवश्यकता पूर्ति गरेका छन्।

पतिपत्नी एक रथका दुई पांग्रा। तिनले बनाएको खुवा र स्थानीय सुन्दर दृश्य अर्का दुई पांग्रा । बिहान बनाएको खुवा साँझ नपर्दै सकिन्छ। तर, खुवा फेरि बिहान तयार हुन्छ । त्यसैगरी यस ठाउँको सौन्दर्य हेरेर कहिल्यै सकिँदैन। गोटीखेल सानो बजार भनेर खुवा नघोटेको भए व्यवसाय बढ्ने थिएन। अहिले ग्राहक बढिरहेका छन्। दम्पतीले मायाले बनाएको खुवा हारालुछ हुन्छ। बेलैमा नपुगे खुवा सकिइहाल्छ।

एकै रथका दुई पांग्रा पतिपत्नी मिलेर खुवा व्यवसायलाई उत्कृष्ट विन्दुमा पु¥याएका छन्। दैनिक चल्ने व्यवसायमा बिहानै पकाएको खुवा साँझ नपर्दै सकिने गरेको छ । हरेक काममा माया मिसिएको हुनुपर्छ। तब, मात्रै काम निपूर्ण हुन्छ। त्यस्तै दम्पतीय जोडीले बनाएको खुवामा सबैको हारालुछ हुने गरेको छ। गोटीखेल बजार सानो थियो, ग्राहक पनि थोरै। विश्वास भने धेरै थियो। अहिले विश्वासकै कारण सोनामका ग्राहक अहिले बढेका छन्।

गोटीखेल आएका मानिसले यहाँका दुधका परिकारको चर्चा सहरसम्म पु¥याएपछि ग्राहक खोजीखोजी आउन थालेका छन्। त्यति मात्र होइन, खुवा विदेश पनि कोसेलीका रूपमा पुग्न थालेको छ। ताजाताजा दुधको खुवा मात्रै होइन, मगमग बास्न आउने घिउका पारखी पनि उत्तिकै छन्। छुर्पी र पुष्टकारीसमेत सोनामको परिवारले बनाउने गरेको छ । यो परिवारले सञ्चालन गरेको वैतरणी खुवा उद्योगले मात्र दैनिक दैनिक ३० केजी खुवा बनाएर बेच्छ। तर, शनिबार माग सय केजीभन्दा बढी हुन्छ।

सोनाम गोटीखेलमा खुवा उत्पादनमा नौ वर्षदेखि सक्रिय छन्। ‘यहाँ घुम्न र वैतरणी धामको दर्शन गर्न आएका मानिसहरूले खुवा खान्छन्, सँगै घरघर लैजाने गरेका छन्,’ उनले भने, ‘जसकारण मैले बनाएको खुवाको चर्चा व्यापक भएको छ। भैंसीले खाएको खुराकअनुसार दुध आउँछ। फ्याट धेरै आउने भैंसीको दुधमा खुवा र ध्यु धेरै लाग्छ।’

कोभिड– १९ अघि सोनामको व्यापार निकै फस्टाएको थियो। चोखो नाफा नै मासिक एक लाख ३० हजार रूपैयाँभन्दा बढी थियो। अहिले भने व्यापार घटेको गुनासो उनको छ। ‘मानिसको जीवनमा अति आवश्यक भनेको गास, वास र कपास हो,’ उनले भने, ‘खुवा त्योभन्दा बाहिर पर्‍यो। मानिससँग पैसै छैन । पैसा भए पो अन्य खर्च गर्छन् ।’

कोरोना अघिका जस्तो आम्दानी नभए पनि घर खर्च र छोराछोरीलाई पढाउन पुग्ने आम्दानी घर छेउमै बसेर कमाउन सकेको खुवा उद्यमी सोनाम सुनाउँछन्। उनका अनुसार ठेक्कामा भन्दा बढी खुद्रामा खुवाबाट दुःखअनुसारको राम्रो आम्दानी हुने गरेको छ। नेपालको चर्चित धार्मिक स्थलमध्ये वैतरणी धाममा मृत्युअघि एकपटक जानैपर्ने विश्वास हिन्दु धर्मावलम्बीमा छ। मृत्युपछि वैतरणी तर्न सहज हुने विश्वासले पनि यहाँको दर्शनका निम्ति जाने गर्छन् । यस्ता धार्मिक स्थलको भ्रमणले बाच्नुको अर्थ बोध हुन्छ । यसरी घुम्न आउनेको चापले खुवा व्यापार मौलाएको सोनामले बताए।

किसानको दुध गाउँकै उद्यमीलाई दिइएको छ। दुधबाट परिकार बनेर सहरसम्म पुगेको छ। न कसैले दुध नबिकेकोमा चिन्ता गर्नुपरेको छ, न कसैलाई उद्यमकै कमि भएको छ। महांकालका किसानको दुध नबिके पनि खुवा र ध्यु बिक्ने गरेको छ। ‘अबको पुस्ता कृषिबाट हराउँदै गएको देख्दा बढो चिन्ता लागेको छ,’ सोनामले भने, ‘बाआमाको पुस्ताले कृषि धानेका थिए। हाम्रो पुस्ता अवसरको खोजीमा सहर पसे। नातिनातिनाको पुस्ता विदेश गइरहेका छन्।’

गोटीखेलमा खुवाको मिठासले मात्रै मानिसलाई तानेको छैन । दक्षिण ललितपुरको केन्द्रविन्दु गोटीखेलसँग चुम्बकीय आकर्षण छ। हरियाली वातावरणले पर्यटकलाई चुलेनिम्तो दिइरहेको छ।

गोटीखेल बजार हेर्दा सानो भए पनि पनि सुविधाका हिसाबले भरिपूर्ण छ। त्यहाँ महांकाल गाउँपालिकाको कार्यालय, मालपोत, नापी, इलाका प्रहरी, इलाका वन, स्वास्थ्य, कृषि, पशु कार्यालयलगायतका सरकारी कार्यालयहरू प्रशस्त रहेका छन्। त्यस्तै वित्तीय कारोबारका लागि बैंक तथा सहकारीहरू रहेका छन्। अचेल स्थानीय स्तरमै धेरै सुविधा पुगेका कारण सहज भइसकेको छ।

‘राहदानीबाहेक अन्य कागजात बनाउनलाई उपत्यका धान्नुपर्दैन,’ सोनाम भन्छन्, ‘यही सबै सेवासुविधा छ। तर, बाटोघाटोको अवस्था भने नाजुक छ। शैक्षिक क्षेत्रका लागि क्याम्पस, सरकारी विद्यालय तथा माध्यमिक तहसम्मको बोर्डिङ स्कुलसमेत छ। छोरालाई पनि यहींको सरकारी स्कुलमा हालेको छु।’

ललितपुर चापागाउँबाट गोटीखेलसम्मको दुरी करिब ३६ किलोमिटर मात्र हो। पहिले सबै बाटो कालोपत्र हुँदा मोटरसाइकलमा एक घण्टामै पुग्न सकिने ठाउँ अहिले बाटो बिग्रेका कारण दुर्गमजस्तो बन्न पुगेको छ।

गोटीखेलमा फर्निचर उद्योग, काठे तेल मिल, दुध भण्डार, मोटरसाइकल ग्यारेज, सुन पसललगायत विभिन्न प्रकारका व्यावसायिक उद्यम पनि गोटीखेल बजारमा प्रशस्त मात्रामा देखिन्छन्। त्यसैगरी फलफूलमा सुन्तला, जुनारलगायत यहाँ तरकारी तथा खाद्यान्नअन्तर्गत धान, मकै, फापर लगायत तेलका लागि तोरीको राम्रै उत्पादन हुने स्थानीय खुवा उद्यमी सोनामले बताए।

गोटीखेलमा विभिन्न किसिमका तरकारी र तोरीसँगै क्यान्सरको औषधी बनाउन प्रयोगमा आउने धेरै ठाउँमा लोठसल्ला रोपिएका छन्। स्थानीयको भनाइअनुसार बाहिरका व्यापारीले प्रतिकिलो तीन सय रूपैयाँमा लोठसल्लाको पात किनेर लैजान्छन्।

 खुवा उत्पादनसँगै लोठसल्लालाई पनि पहिलो प्राथमिकता दिएका सोनाम भन्छन्, ‘खुवा व्यवसाय मात्रै नभएर लोठसल्लाको रुखविरुवा पनि उत्तिकै रोपेको छु। यसले जडीबुटीको काम गर्छ। लोठसल्लाका लागि पर्याप्त वातावरण यहाँ छ। ठाउँ चिसो भएर होला, जे रोपे पनि उब्जाउ हुने गरेको छ। बिचौलियाको भने बिगबिगी छ।’

गोटीखेलमा उत्पादन भएका सामान प्रायः बिचौलियाले नै उठाउने गरेका छन्। ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तो भएको छ। सोनाम भन्छन्, ‘ठेक्कामा काम गर्ने भएपछि खुवा नै नबिक्ने, बिके पनि बिचौलियाले मूल्य नदिने गरेपछि आफैं खुवा व्यवसाय सुरु गरें। हाम्रो खुवा उद्योगमा दैनिक करिब तीन सय लिटर दुध संकलन हुन्छ। शनिबार झन् त्योभन्दा धेरै। वरिपरि गाउँका किसानले यहाँ दसध ल्याउँछन्।’

उनका अनुसार गोटीखेलमा उत्पादन भएको खाद्यान्नलगायत अन्य सामान सिधै बजारमा पुर्‍याउन बिचौलियाका कारण सहज छैन। आफ्नै बजार छैन। गाउँमा उत्पादन गरेका वस्तु सहरमा सजिलै पुर्‍याउन पाउने हो भने स्थिति भिन्न हुन्छ।

सुन्दर वातावरणमा बसेर सहरसँग व्यापार गर्ने हो भने स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। स्थानीय युवाले पनि काम खोजेर हिँड्नुपर्दैन। सोनामले खुवा बनाउनेलाई खान र बस्न दिएरै महिनामा २५ हजार रूपैयाँ दिएका छन्। यसबाट पनि स्थानीय उद्यमशीलताको सम्भावना देखिन्छ।

‘कृषिप्रधान देश नेपाल भन्दा हाँसो लाग्छ। आफू बिक्नका लागि जे पनि भन्छन्,’ उनले भने, ‘यसो भनिरहँदा जोक गरेझैं लाग्छ। हामी कृषिप्रधान देश भनेर थाक्दैनौं । कृषिप्रधान भनिने देशमा समाजका अगुवाले असार १५ मा धानको माला लगाउने कुरा कत्ति पनि चित्त बुझेको छैन। अब नयाँ पुस्ताले दुबोको माला भनेर धानका बेर्ना बेर्न बेर छैन। धान र दुबो नै नचिन्ने पुस्ता बनाउने देशले कृषिबाट कसरी उन्नति गर्ला?’

खुवा व्यवसायमा लागे पनि उनले समाजलाई राम्ररी बुझेका छन्। अहिलेका पुस्ताले आफूलाई जान्नेसुन्ने ठाने पनि ज्ञानी हुन नसकेको उनको ठम्याइ छ। ‘विदेशमा सार्वजनिक स्थलमा फूल पनि टिप्दैनन्,’ उनले भने, ‘यहाँ आफैं हिँड्ने बाटोको बत्ती पनि ढुंगाले हानेर फुटाउँछन् । हामीले के सिक्यौं र भावी पुस्तालाई के सिकाइरहेका छौं? त्यो पनि थाहा छैन।’ त्यसैले आफैं राम्रो गर्ने र सकारात्मक सोच भएमा अरूलाई पनि परिवर्तन गर्न सक्ने उनको सुझाव छ।’

अग्लाअग्ला पहाडको खोंचमा रहेको सानो गोटीखेल बजार सुविधाकै कारण जग्गाको मूल्य आनाको झन्डै ५–७ लाखसम्म कारोबार हुन थालेको उनी सुनाउँछन्। उपत्यकामा गर्मीको चाप बढिरहेको बेलामा उपत्यकाबाट थोरै भित्र रहेका ठाउँहरूमा चिसोको अनुभव गर्न पाइन्छ। गोटीखेल पुग्ने बेलासम्म घरहरू धेरै दुरीमा फाट्टफुट्ट मात्र देखिन्छन्।

स्वच्छ हरियाली र छर्लंग देखिएका हिमालहरूले गर्दा वातावरण मनमोहक छ । यहाँ खानपिनका लागि होटल, गेस्टहाउस आदिको सुविधा पनि उपलब्ध छ। बाटोमा कतै कतै मात्र मानिसहरू हिँडेका हुन्छन्।

गाउँले जीवन, पसिना चुहाउँदै घाँसदाउराको भारी बोकेर लम्किरहेका मानिसहरू पनि देख्न सकिन्छ। यति सुन्दर ठाउँमा सरोकारवालाको ध्यान पुगेको छैन। आन्तरिक र बाह्य पर्यटकका लागि दक्षिण ललितपुर आकर्षण बन्न सक्छ । त्यसका लागि होमस्टे निर्माण, पर्यटन तालिम र प्रचारप्रसारमा जोड दिनुपर्छ। पर्यटनबाट गाउँको अर्थतन्त्र उकासिन्छ।

सबै ठाउँको आआफ्नै विशेषता हुन्छ। त्यस्तै सबै सौन्दर्यले सम्पन्न भएको दक्षिण ललितपुरबारे बयान गर्दै सोनामले भने, ‘आफ्नै ठाउँको विशेषता चिनेर काम गरेमा आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ। गाउँमा धेरै सम्भावना छन्। तर हामी आफ्नो गाउँठाउँमा केही नहेरी रोजगारीकै लागि विदेश जान्छौं । स्वदेशमा गर्न सके विदेशमा भन्दा बढी कमाइन्छ।’

सामान्यतः ललितपुर भन्नेबित्तिकै मानिसलाई लगनखेल, जावलाखेल, पाटन र वरपरका बस्तीलाई सम्झन्छन्। मानिसलाई ललितपुरको भित्री भाग करिब १५ प्रतिशत मात्रै थाहा होला । बाँकी ८५ प्रतिशत दक्षिण ललितपुरले ओगटेको छ। प्राकृतिक विविधता अनुभव गर्न पनि सहरवासीले दक्षिण ललितपुर नियाल्नैपर्छ।

दक्षिण ललितपुरमा तीन गाउँपालिका पर्छन्– बागमती, कोन्जोसोम र महांकाल। भट्टेडाँडा केन्द्र रहेको बागमतीमा माल्टा, घुसेल, इकुडोल, प्युटार, आश्राङ, गिम्दी पर्छन् भने चौघरे केन्द्र रहेको कोन्जोसोममा शंखु, दलचोकी, नल्लु, भारदेउ पर्छन्। त्यसैगरी गोटीखेल केन्द्र रहेको महांकालमा बुखेल, मानीखेल, चन्दनपुर, कालेश्वर र ठुला दुर्लुङ गाउँ पर्छन्।

दक्षिण ललितपुरको सौन्दर्य बुझेर खुवा व्यवसायमा लागेका सोनाम दम्पतीले देशका अन्य युवालाई आफ्नै गाउँठाउँमा बसेर पनि काम गर्न सक्ने उदाहरण दिइरहेका छन्। आफ्नै हरिलाभरिला पाखालाई सिञ्चन गर्ने हो भने देशका हरेक क्षेत्रमा खुवा खेती हुन्छ। सबै क्षेत्रमा मालामाल हुनु नै ‘खुवा पल्टिनु’ हो नि। 

प्रकाशित: २९ वैशाख २०८१ १३:११ शनिबार

#Food farming #Sonam Gole #agrarian