समाज

नेपाल रिपब्लिक मिडियाको आयमा ५५.९३ प्रतिशतले वृद्धि

नेपाल रिपब्लिक मिडियाको आय वृद्धि भएको छ। मिडियाको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार आय बढेको छ। आयमा ५५.९३ प्रतिशतले वृद्धि भएको मिडियाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको हो।

मिडियाका अनुसार गत त्रैमासिक विवरणमा ८ करोड ७० लाख ६० हजार ९३३ रूपैयाँ आम्दानी भएकामा तेस्रो त्रैमासिक विवरणअनुसार १३ करोड ५७ लाख ५२ हजार ४१० रूपैयाँ आम्दानी भएको मिडियाले जनाएको छ।

यस त्रैमासमा सञ्चालन मुनाफा ६७.७६ प्रतिशतले वृद्धि भएको आर्थिक विवरणबाट देखिन्छ। दोस्रो त्रैमासिक विवरणसम्ममा सञ्चालन मुनाफा २ करोड ५ लाख ७९ हजार ९५ रहेकामा सुधार भई यस त्रैमासिकमा ३ करोड ४५ लाख २२ हजार ५१८ सञ्चालन मुनाफा रहेको मिडियाले जनाएको छ।

पहिलो त्रैमासिक विवरणमा नोक्सानी १ करोड २२ लाख ७० हजार ६५ रहेकामा यस त्रैमासिक विवरणसम्म आउँदा नोक्सानीमा समेत कम गर्दै ५२ लाख २६ हजार १७३ मा सीमित रहेको जनाएको छ।

कम्पनीको बैंक ऋणतर्फको ब्याज खर्च गत आवको सोही त्रैमासिकको तुलनामा १ करोड ४१ लाख ६८ हजार ५८६ ले कम भएको समेत कम्पनीले जनाएको छ। कम्पनीको कुल नाफामा समेत ५७.११ प्रतिशतले वृद्धि भएको छ।

नेपाल रिपब्लिक मिडियाले हालको सिथिल बजार तथा आर्थिक मन्दीमा पनि सीमित साधनस्रोतको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्ने बाटोमा अग्रसर रहेको दाबी गरेको छ। यसका लागि मिडियाले प्रविधिको अधिकतम प्रयोग गर्दै सञ्चालन खर्चमा व्यापक कटौती गरी प्रभावकारी कार्य गर्दै आएको जनाएको छ। 

प्रकाशित: २९ वैशाख २०८१ १०:०३ शनिबार

Nepal Republic Media Raw Financial Statements